तीन कम्पनीको वार्षिक साधारण सभा आज आइतबार पुस २७ गते बस्दैछ। युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत र सागर डिस्टिलरीको वार्षिक साधारण सभा आज बस्न लागेको हो ।
युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभा आज पुस २७ गते कास्की जिल्लाको पोखरास्थित आभ्या क्लबमा बिहान ११ बजेदेखि आयोजना हुँदैछ।
साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर तथा ०.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने कार्यसूची रहेको छ।
साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, रिक्त सञ्चालक पदमा मनोनयन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सोसम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते दाखिला खारेज बन्द (बुक क्लोज) गरिसकेको छ। बुक क्लोजको आधारमा पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
इष्टर्न हाइड्रोपावर लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा काठमाडौँको वागबजारस्थित होटल हार्दिकमा बोलाएको छ । सभा बिहान ११ बजे सुरु हुनेछ । सभाले १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने बिशेष प्रस्ताव पारित गर्नेछ।साथै, सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ।
यसैगरी, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, १:१ अनुपातमा हकप्रद सेयर निष्काशन, प्रवन्धपत्र संशोधन र सञ्चालक समितिमा संस्थापक समूहबाट ५ जना, सर्वसाधारण समूहबाट १ जना र स्वतन्त्र समूहबाट १ जना सञ्चालकको निर्वाचनसम्बन्धी विशेष प्रस्तावमा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका बुक क्लोज गरिसकेको छ। जस अनुसार, पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आफ्नो १३ औं र १४ औं वार्षिक साधारण सभा काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार बैंक्वेटमा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ भने लेखापरीक्षकको प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, आय–व्यय विवरण तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरू पनि अनुमोदन गरिनेछ।
यसैगरी, चालु आर्थिक वर्षका लागि नियुक्त लेखापरीक्षकको अनुमोदन तथा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव र विभिन्न संघ–संस्थालाई प्रदान गरिएको आर्थिक सहयोग अनुमोदनसम्बन्धी विशेष प्रस्ताव पनि सभामा पेश गरिनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। जस अनुसार, पुस १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।
सागर डिस्टिलरी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा नवलपुरको गैँडाकोटस्थित इला रिसोर्टमा बोलाएको छ। सभा बिहान साढे ९ बजे सुरु हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरू पनि छलफल गरी पारित गरिनेछ।
यसैगरी, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, दुई जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने र एक जना सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव सभामा पेश गरिनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ।जस अनुसार, पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।

















प्रतिकृया