करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको पहिलो पाक्षिकमा विजेता बनेका दुई जनालाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुरस्कार रकम हस्तान्तरण गरेका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित साउनको दोस्रो पाक्षिक पुरस्कार घोषणा कार्यक्रममा धनगढीका हेमराज जोशीलाई १० लाख रुपैयाँको बम्पर उपहार र गैँडाकोट, नवलपरासीका हिमाल अर्याललाई कर कट्टीपछिको एक लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गरिएको हो।
साउनको पहिलो पाक्षिकमा जोशीले २५० रुपैयाँमा बिजुलीको बल्ब खरिद गर्दा जारी भएको बिलमार्फत १० लाख रुपैयाँको बम्पर उपहार जितेका थिए। अर्थमन्त्री वाग्लेले उनलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे।
पुरस्कार हस्तान्तरण गर्दै अर्थमन्त्री वाग्लेले जोशीलाई सरकारको करदाता प्रोत्साहन पुरस्कारको दूत बनेर ‘बिल दिनुपर्छ र लिनुपर्छ’ भन्ने सन्देश समाजमा फैलाउन आग्रह गरे।
“हेमराजजी, बधाई छ। तपाईँ पहिलो बम्पर उपहार विजेता हुनुहुन्छ। तपाईँ सरकारको यो कार्यक्रमको दूत बन्नुहोस्, सरकारले अघि बढाएको ‘बिल दिनुपर्छ र लिनुपर्छ’ भन्ने कुरा समाजमा फैलाउनुहोस्,” अर्थमन्त्री डा. वाग्लेले भने
अर्थमन्त्री वाग्लेले पुरस्कार रकम राम्रो काममा प्रयोग गर्नसमेत आग्रह गरे।
त्यस्तै, गैँडाकोटका हिमाल अर्यालले पनि साउनको पहिलो पाक्षिकमा १ लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार जितेका थिए। साथीहरूसँग आइसक्रिम खाँदा भएको कारोबारमा उनलाई उक्त पुरस्कार परेको थियो।
सरकारी नियमानुसार २५ प्रतिशत कर कट्टी भएपछि अर्यालले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
साउनको पहिलो १५ दिनका अन्य विजेतालाई भने यसै साता सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट नगद पुरस्कार प्रदान गरिने आन्तरिक राजस्व विभागले जनाएको छ।


प्रतिकृया