देशभर बढिरहेको वायु प्रदूषण रोक्न हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सुझाव
हाल देशभर बढिरहेको वायु प्रदूषण रोक्ने उपायबारे सहरी विकास मन्त्रालयमा छलफल भएको छ । बिहीबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरण विभागका अधिकारी, विज्ञ तथा सरोकारवालासँग छलफल गरेका छन्।
विज्ञहरूले प्रदूषण नियन्त्रणका लागि तत्काल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने र सवारी साधन जोर–बिजोर प्रणालीअनुसार चलाउने सुझाव दिए। साथै, सडक तथा पूर्वाधार निर्माणका क्रममा प्रदूषण शुल्क तिर्ने अनिवार्य व्यवस्था गर्नुपर्ने उनीहरूको धारणा थियो।
बैठकमा सहभागी विज्ञहरूले आगलागी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने समेत बताएका छन्। हालै विभिन्न स्थानमा लागेको डढेलोका कारण वायु प्रदूषण झनै वृद्धि भएको उनीहरूको भनाइ थियो।सरकारले अब प्रदूषण न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्ने संकेत दिएको छ। आगामी दिनमा थप छलफल र निर्णयहरू हुने अपेक्षा गरिएको छ।