रास्वपाको समानुपातिक दौडमा समीक्षा बाँस्कोटा र रञ्जु दर्शना
विवेकशील साझा पार्टीकी पूर्व अध्यक्ष समीक्षा बाँस्कोटा र महासचिव रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा समानुपातिकतर्फ उम्मेदवार बन्न आवेदन दिएका छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बाँस्कोटा र दर्शनाले समानुपातिकतर्फ उम्मेदवारीको इच्छा देखाएका हुन्। रास्वपा र विवेकशील साझा पार्टीबीच १४ मंसिरमा एकता भएको थियो।
दुवै जनाले खस–आर्य क्लष्टरअन्तर्गत बागमती प्रदेशबाट समानुपातिक उम्मेदवारका रूपमा नाम दर्ता गराएका छन्।
रास्वपाले समानुपातिकतर्फ उम्मेदवार हुन इच्छुक व्यक्तिहरूलाई अनलाइनमार्फत आवेदन दिन आह्वान गरेको थियो। पार्टीले इच्छुक उम्मेदवारहरूको प्रारम्भिक नामावली गएराति सार्वजनिक गरेको छ।
रास्वपाका अनुसार समानुपातिक उम्मेदवारको अन्तिम सूची १४ पुसमा सार्वजनिक गरिनेछ। त्यसअघि पार्टीले सबै प्रदेशमा इच्छुक उम्मेदवारहरूसँग छलफल गर्ने तयारी गरेको छ।





