झापा–५ मा ‘प्रचण्ड-ओली’ तालमेलको हल्ला ‘शतप्रतिशत गलत’: आफ्नै उम्मेदवार जिताउन प्रचण्डको कडा निर्देशन

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १४ गते
झापा–५ मा ‘प्रचण्ड-ओली’ तालमेलको हल्ला ‘शतप्रतिशत गलत’: आफ्नै उम्मेदवार जिताउन प्रचण्डको कडा निर्देशन

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा–५ मा कुनै पनि दलसँग सहकार्य नहुने स्पष्ट पारेका छन्। बिहीबार प्रचण्डले सो क्षेत्रका नेकपा उम्मेदवार रन्जित तामाङलाई टेलिफोन मार्फत निर्देशन दिँदै सामाजिक सञ्जालमा फैलिएका अफवाहलाई नपत्याई सक्रिय भएर चुनावी अभियानमा लाग्न आग्रह गरेका हुन्।

तामाङका अनुसार, प्रचण्डले फोनमा भनेका थिए, “बाहिर जे अफवाह फैलिएको छ, त्यो सत्य होइन। हामी कुनै दलसँग अलायन्समा छैनौं र हुँदैन पनि। दृढतापूर्वक लागौँ।” प्रचण्डले पार्टीका कार्यकर्तालाई सक्रिय भएर खटिन समेत आग्रह गरेका छन्। यसै क्रममा तामाङले झापामा सभा आयोजना गर्न लागिएको र प्रचण्डलाई त्यसमा सहभागी हुन आमन्त्रित गरेको जानकारी दिएका छन्।

यसअघि प्रचण्डले काठमाडौंमा बुद्धिजीवीहरूसँगको छलफलमा विदेशी शक्तिहरूलाई परास्त गर्न कांग्रेस, एमाले र नेकपा जस्ता दलहरू एकजुट हुनुपर्ने बताएका थिए। तर त्यसको आधारमा झापा–५ र दाङ–२ मा कांग्रेस–एमालेसँग मिल्ने चर्चा फैलिएको थियो। यस विषयमा प्रचण्डले तामाङलाई फोन गरेर अफवाह चिर्दै नेकपा पूर्ण रूपमा आफ्नै उम्मेदवारको जितमा केन्द्रित हुने स्पष्ट पारेका छन्।

झापा–५ मा एमालेबाट केपी शर्मा ओली र रास्वपा बाट बालेन शाह उम्मेदवार छन्। प्रचण्डले यस क्षेत्रमा ओलीलाई सघाउने भन्ने अफवाह पूर्ण रूपमा गलत भएको बताए। उनले भने, “झापा–५ मा हामी कसैलाई छोड्दै छैनौं, सम्पूर्ण शक्तिका साथ उम्मेदवार जिताउन लाग्ने हो। सबै अफवाहहरू शतप्रतिशत गलत हुन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स