दुई तिहाईको दम्भमा कुलमानलाई हटाउनु गलत : माओवादी अध्यक्ष दाहाल

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ११ गते
दुई तिहाईको दम्भमा कुलमानलाई हटाउनु गलत : माओवादी अध्यक्ष दाहाल

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन्। सोमबार साँझ सामाजिक सञ्जालमार्फत दाहालले सरकारको उक्त कदमको कडा आलोचना गरेका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले लोडसेडिङको चरम संकटको समयमा आफ्नो नेतृत्वको सरकारले कुलमानलाई पहिलो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको स्मरण गराए। उनले लेखेका छन्, “उनको विज्ञता, क्षमता र हाम्रो नेतृत्वको संयुक्त प्रयासले उज्यालो नेपाल निर्माण भएको जनजनलाई थाहा छ।”

दाहालका अनुसार सरकारले बक्यौता उठाउनुपर्ने विषय उठाउँदा कुलमानलाई पटकपटक स्पष्टीकरण मागेर अन्याय गरिरहेको थियो। “सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त गरेको खबर सञ्चारमाध्यमबाट आएको छ। आशा गरौँ, यो खबर असत्य होस्। यदि सत्य रहेछ भने यो निर्णय आपत्तिजनक छ। दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयको घोर निन्दा गर्दछु,” उनले लेखेका छन्।

सरकारले कुलमानलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। ऊर्जामन्त्री दीपक खड्काले कुलमानले सरकारलाई नटेरेको भन्दै उनीविरुद्ध कदम चालिएको बताएका थिए। कुलमानले भने सरकारले सोधेको स्पष्टीकरण स्पष्ट नभएको र आधारबिना निर्णय लिइएको प्रतिक्रिया दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स