७२ वटा ब्रोकर कम्पनीको कारोबार प्रणालीमा र्यान्समवेयर आक्रमणपछि आएको समस्या पूर्ण रूपमा समाधान नभए पनि भोलि सेयर कारोबार खुल्ने भएको छ।
ब्रोकरहरूको प्रणालीमा देखिएको समस्या समाधान भए पनि वा नभए पनि भोलिको सेयर कारोबार सञ्चालन गर्ने तयारी भइरहेको नेप्सेका एक उच्च कर्मचारीले बताए।
यता, स्टक ब्रोकर एसोसिएसनका महासचिव भक्ति राम घिमिरेले ब्रोकरहरूको प्रणालीमा आएको समस्या समाधान भइसकेको जानकारी बजारको चिरफारलाई दिएका छन्।
डेटा हबमा रहेको प्रणालीलाई अहिले ‘आइसोलेसन’मा राखेर थप परीक्षण तथा सुरक्षा जाँच भइरहेको छ। कम्पनीले प्रणाली पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक परीक्षण गरिरहेको छ।
डेटा हबले वाईकोलाई पठाएको पत्रअनुसार र्यान्समवेयर आक्रमण हुनुअघिको डेटा ब्याकअप सुरक्षित रहेको छ। आक्रमण हुनुभन्दा करिब डेढ घण्टा अघिसम्मको डेटा सुरक्षित रूपमा ब्याकअप गरिएको कम्पनीले जनाएको छ।
यसअघि ७२ वटा ब्रोकर कम्पनीको सर्भर रहेको डेटा हबको प्राविधिक पूर्वाधारमा र्यान्समवेयर आक्रमण भएपछि प्रणाली अफलाइन गरिएको थियो।
र्यान्समवेयर आक्रमणमा के कति कुरामा क्षति भयो भन्ने बारे औपचारिक जानकारी हालसम्म आएको छैन।

प्रतिकृया