अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान ७ः३५ बजेको उडानमार्फत नयाँदिल्ली गएका हुन्।
भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल हुनेछ। साथै, भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनःस्थापनाका विषयमा समेत भारतसँग सहकार्यबारे छलफल हुने बताइएको छ।
भ्रमण तालिकाअनुसार बिहीबार साँझ ५ बजे अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्। शुक्रबार बिहान पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
शुक्रबार नै भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्रफले आयोजना गर्ने भेटघाट कार्यक्रममा सहभागी हुनेछन्। शनिबार भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।
त्यसपछि दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भएर शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ।
भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत रहेका छन्।

प्रतिकृया