बिमा प्राधिकरणको सञ्चालकमा राधा पोखरेल नियुक्त
सरकारले नेपाल बिमा प्राधिकरणको रिक्त महिला सञ्चालक पदमा राधा कुमारी पोखरेललाई नियुक्त गरेको छ। अर्थमन्त्रीस्तरीय निर्णयअनुसार पोखरेललाई चैत १ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सञ्चालक नियुक्त गरिएको हो।
पोखरेल यसअघि विशाल बजार कम्पनीको सञ्चालकका रूपमा नियुक्त भइसकेकी थिइन्। २०७९ सालमा लागू भएको बिमा ऐनमा एक महिला सञ्चालक अनिवार्य रहने व्यवस्था भए पनि यसको पूर्ण कार्यान्वयन भएको थिएन।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा पोखरेलको नियुक्तिसँगै ऐनको उक्त प्रावधान कार्यान्वयनमा आएको छ। ऐनअनुसार प्राधिकरणमा अध्यक्षसहित पाँच सदस्यीय सञ्चालक समिति हुन्छ, जसमा अर्थ र कानुन मन्त्रालयका सहसचिवहरूका साथै जीवन बीमा र निर्जीवन बिमा क्षेत्रबाट एक/एक जना सञ्चालक रहने व्यवस्था छ।