प्रधानमन्त्री ओली भन्छन्, “अब १८ महिनापछि प्रधानमन्त्री देउवाजीलाई हस्तान्तरण गर्छु”
प्रधानमन्त्री केपी शर्मा ओलीले १८ महिनापछि प्रधानमन्त्री पद शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताएका छन्।
चीनको चारदिने औपचारिक भ्रमणबाट बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरे। उनले भने, “अहिले १८ महिनाजति मेरो पालो छ। त्यसपछि शेरबहादुर देउवाजीलाई जिम्मेवारी सुम्पिन्छु, र उहाँले चुनाव गराउनुहुनेछ। हाम्रो गठबन्धन चुनावसम्मका लागि हो। चुनावमा सबैले बहुमत ल्याउन प्रयास गर्नेछौँ।”
भारत भ्रमणबारे प्रश्न गर्दा उनले अनुकूल समयमा जाने बताए। पत्रकारहरूले “उत्तर गएर फर्किनुभयो, दक्षिण कहिले जाने?” भनी सोध्दा उनले भने, “अनुकूलमा जाने हो। अहिले फर्किएकै दिन त्यसबारे भन्न सक्दिन।”
चीन भ्रमणबारे धारणा राख्दै उनले उक्त यात्रा फलदायी भएको बताए। चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाल–चीन सम्बन्ध सुदृढ गर्ने विषयमा सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “उहाँसँगको भेटघाट निकै राम्रो भयो। दुई देशको हितका लागि काम गर्ने समझदारी भएको छ।”