प्रधानमन्त्री ओलीले भने, “युवाहरूलाई स्वदेशमै रोजगारी दिनु सरकारको प्राथमिकता हो”

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ७ गते
प्रधानमन्त्री ओलीले भने, “युवाहरूलाई स्वदेशमै रोजगारी दिनु सरकारको प्राथमिकता हो”

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई देशमै रोक्न र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको पुँजी, सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नोत्तर क्रममा उनले सरकारले विसं २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको जानकारी दिए। नेपालका मुख्य विकास क्षेत्रहरू—जस्तै कृषि, उद्योग, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण—मा सरकारी तथा निजी क्षेत्रबाट ठूलो लगानी भइरहेकाले ती क्षेत्रमा रोजगारीको ठूलो सम्भावना रहेको उनले बताए।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमको रूपमा पुनर्संरचना गरी यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले अगाडि बढाइरहेको उनले बताए।

उनले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी हाल कोशी र मधेस प्रदेशका २० पालिकामा रेमी परियोजनाअन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। साथै, जेन जि पुस्तालाई लक्षित गरी स्टार्टअप र नवप्रवर्तन कार्यक्रममार्फत उद्यमशीलता विकासका कार्यक्रमहरू पनि चलिरहेका छन्।

प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार नगर्ने र गर्न दिन नहुने अठोटमा स्पष्ट रहेको उल्लेख गर्दै, तथ्यका आधारमा आएका गम्भीर भ्रष्टाचारका घटनाहरूलाई कुनै पनि हालतमा सहन नहुने तर कसैले मात्र आरोप लगाएको आधारमा कारबाही नहुने पनि बताए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स