राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको नेतृत्वमा भएका कामको प्रशंसा गरेका छन्।
३१औं महानगर दिवसको अवसरमा सोमबार सैनिक मञ्चमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले महानगरपालिकाले सम्पादन गरेका कार्य, प्रवाह गरेका सेवा तथा विस्तार गरेको सम्बन्धले स्थानीय सरकारको जिम्मेवारीबोध स्पष्ट रूपमा देखाएको बताए।
उनले आर्थिक, सामाजिक तथा भौतिक विकाससँगै सहरी व्यवस्थापनमा महानगरपालिकाले देखाएको नवीनता र सक्रियता प्रशंसनीय रहेको उल्लेख गरे। सेवाग्राही र लाभग्राहीलाई प्रदान गरिएका सेवा, सुविधा तथा योजनाले महानगरमा रहेको युवा नेतृत्व र ऊर्जाशील जनप्रतिनिधिको सक्रियताको सार्थकता पुष्टि गरेको उनले बताए।
राष्ट्रपति पौडेलले सहरी व्यवस्थापन, नदी तथा जल प्रणालीको संरक्षण, हरियाली प्रवर्द्धन, प्राकृतिक सम्पदा, मठमन्दिर, तलाउ, पोखरी, ढुङ्गेधारा तथा अन्य भौतिक सम्पदाको अस्तित्व पुनर्स्थापना र एकीकृत सहरी विकासका प्रयासलाई काठमाडौं महानगरपालिकाका उदाहरणीय कामका रूपमा उल्लेख गरे।
उनले शासनमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग, पारदर्शी र उत्तरदायी सेवा प्रवाहका लागि एकल सेवा केन्द्र सञ्चालन तथा गुनासो व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिँदै महानगरपालिकाले आफूलाई नागरिकमैत्री, सेवाग्राहीमैत्री, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा स्थापित गरेको बताए।
यस अवसरमा राष्ट्रपति पौडेलले जनताले सुम्पिएको जिम्मेवारी पूरा गर्न दृढ अठोट, ऊर्जा, आचरणशीलता र चरित्रवान नेतृत्वको आवश्यकता औंल्याउँदै युवा पुस्ताले चाहेको परिवर्तनलाई मूर्तरूप दिन फागुन २१ गतेका लागि तय निर्वाचनमा सहभागी हुन सबैसँग अपिल गरे।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको पनि उपस्थिति थियो।
महानगरपालिकाले विभिन्न विधामा योगदान पुर्याउने व्यक्ति तथा जनप्रतिनिधिलाई सम्मान गरेको थियो। सम्मानपत्र र पुरस्कार रकम राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवले प्रदान गरेका थिए।

