विपक्षी दलहरू एकजुट, संसद्‌मा सरकारको सशक्त विरोध गर्ने

विपक्षी दलहरू एकजुट, संसद्‌मा सरकारको सशक्त विरोध गर्ने

सरकारको कथित गलत कार्यशैलीविरुद्ध प्रतिनिधि सभामा विपक्षी दलहरू अझ सशक्त रूपमा प्रस्तुत हुने भएका छन्।

आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको प्रमुख सचेतकहरूको छलफलपछि विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेठ १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सरकारविरुद्ध संयुक्त रूपमा कडा प्रतिरोध गर्ने निष्कर्ष निकालेका हुन्।

छलफलमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा, एमालेका ऐनबहादुर महर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए।

एमाले प्रमुख सचेतक महरका अनुसार छलफलमा संसद्को मर्यादा, संसदीय मूल्य–मान्यता विपरीत विपक्षीको आवाज दबाउने प्रयास, सरकारको व्यवहार र सभामुखको भूमिकाबारे गम्भीर छलफल भएको थियो।

त्यसैगरी, प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको, विपक्षीको आवाजलाई नसुनेको लगायतका विषयमा पनि छलफल भएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।

विपक्षी दलहरूले संविधान कार्यान्वयन, प्रतिनिधि सभा नियमावलीको पालन तथा लोकतान्त्रिक अभ्यासको रक्षा गर्न एकताबद्ध भएर अघि बढ्ने सहमति समेत गरेका छन्। उनीहरूले आगामी दिनमा पनि यस्तो छलफल र सहकार्य निरन्तर जारी राख्ने बताएका छन्।

प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्ने माग विपक्षी दलहरूले गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स