चुनाव अघि ओली देउवालाई भेट्न महाराजगञ्ज पुगे
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवाको निवास महाराजगञ्ज पुगेका छन्। अध्यक्ष ओलीको सचिवालयका अनुसार, भेटघाट कार्यक्रम दिउँसो साढे ३ बजे तय भएको थियो र हाल उनीहरूबीच भेटवार्ता भइरहेको छ।
भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि उनीहरूबीच प्रत्यक्ष भेटवार्ता भएको थिएन। त्यसअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी रहेको थियो। आगामी माघ ११ मा राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन तय गरिएको छ।
स्रोतका अनुसार, भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ। उल्लेखनीय छ कि भदौ २४ मा सभापति देउवामाथि निवास बूढानीलकण्ठमा आक्रमण भएको थियो। त्यसपछि उनी सिंगापुरमा उपचार गराएर स्वदेश फर्किएका छन्।





