सुचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी केही दिनमै राष्ट्र बैंकले नयाँ गभर्नर पाउने आशा व्यक्त गरेका छन्। साथै, सिफारिस समितिमा अब कुनै अन्योल नहुने स्पष्ट पार्दै उनले प्रक्रिया चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार गभर्नर सिफारिस समितिको प्रक्रिया केही समय अलमलिएको थियो। सुरुमा सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि प्रक्रिया रोकिएको थियो। त्यसपछि महाप्रसाद अधिकारीलाई समितिमा थपिएको थियो। तर केही समयपछि डा. विश्व पौडेलले पनि राजीनामा दिने परिस्थिति बनेपछि फेरि समितिको पुनर्गठन गर्नु परेको उनले बताए।
अब भने मन्त्रिपरिषद्ले नयाँ सिफारिस समिति गठन गरिसकेको छ। उक्त समितिमा अर्थमन्त्री विष्णु पौडेल संयोजकका रूपमा रहेका छन् भने सदस्यहरूमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे रहेका छन्।
















प्रतिकृया