अब एपबाटै यसरी जागिर खोज्न सकिने
सरकारले रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिहरूलाई प्रविधिमार्फत सिधा जोड्न ‘श्रमसंसार’ एप सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत जानकारी दिँदै, यो एप राइड सेयरिङ सेवाजस्तै गरी काम खोज्ने र काम दिने पक्षबीच सीधा सम्पर्क गराउने माध्यम हुने बताए।
उनका अनुसार shramsansar.com पोर्टलको माध्यमबाट अब रोजगारदाता र रोजगारी खोजकर्ताले सजिलै एक–अर्कासँग सम्पर्क गर्न सक्नेछन्। उनले भने, “जसरी सार्वजनिक सवारी साधन प्रयोग गर्ने र सवारी दिनेहरू राइड सेयरिङ एपमार्फत जोडिन्छन्, त्यसरी नै यो एपले रोजगारका अवसर र आवश्यक जनशक्तिलाई जोड्नेछ।”
प्रधानमन्त्री ओलीले यो सेवा चाँडै नागरिक एपमा पनि समावेश गरिने जानकारी दिँदै, “एकातिर काम पाइँदैन भन्ने गुनासो र अर्कातिर कामदार भेटिँदैन भन्ने समस्या दुवैको समाधान श्रम संसार एपले गर्नेछ,” भनेका छन्।