अब सरकारी अस्पतालका फार्मेसीले बिरामीलाई औषधि छैन भन्दै बाहिर किन्न पठाएमा कारबाही गरिने
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले बिरामीलाई औषधि छैन भन्दै बाहिर किन्न पठाएमा कारबाही गरिने चेतावनी दिएका छन्। भक्तपुर क्यान्सर अस्पतालमा आयोजित ‘रिपोर्टिङ भेन्डिङ मेसिन’ उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री पौडेलका अनुसार केही सरकारी अस्पतालका फार्मेसीहरूले नियतवश बिरामीलाई औषधि छैन भन्दै बाहिर पठाउने गरेको पाइएकाले अबदेखि यस्तो कार्य सह्य नहुनेछ।
साथै, अस्पतालका उपकरण बिग्रिएको भन्दै उपचारमा ढिलाइ गर्नु वा बिरामीलाई बाहिर जान बाध्य पार्नु गैरकानुनी भएको बताउँदै यसलाई कडाइका साथ रोक्ने प्रतिबद्धता व्यक्त गरे।
स्वास्थ्य बीमालाई एकीकृत प्रणालीबाट मात्र लागू गर्नुपर्नेमा जोड दिँदै उनले सबै अस्पतालमा बिमा काउन्टर राख्न निर्देशन दिएको छ। बीमा प्रणालीमा हुने अनियमितता रोक्न आवश्यक कदम चालिने भन्दै उनले बिमा रकम एक लाखबाट पाँच लाख पुर्याउने योजना अघि बढाइएको जानकारी दिए।