ललितपुर महानगरपालिकामा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा सुरु, फोन गरेको १५ मिनेटभित्र पुग्ने

ललितपुर महानगरपालिकामा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा सुरु, फोन गरेको १५ मिनेटभित्र पुग्ने
Advertisement Ads

ललितपुर महानगरपालिकाले आपत्कालीन अवस्थाका बिरामीलाई अस्पताल पुर्‍याउनुअघि नै प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ।

सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उक्त सेवाको शुभारम्भ गरिन्। आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ महत्वपूर्ण हुने भएकाले घटनास्थलमै स्वास्थ्यकर्मीको उपस्थिति हुँदा बिरामीलाई गम्भीर अवस्थाबाट जोगाउन सकिने उनले बताइन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा प्रि–हस्पिटल केयर सुधारका लागि महत्वपूर्ण पहल भएको बताए। यस्तो सेवा विश्वका सीमित स्थानमा मात्र रहेको उल्लेख गर्दै उनले ललितपुरको प्रयास सराहनीय रहेको बताए।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले फिलिपिन्सको माकाती सहर भ्रमणका क्रममा यस्तो सेवा देखेपछि ललितपुरमा पनि सञ्चालन गर्ने अवधारणा अघि बढाइएको बताए। नवौँ नगरसभाबाट प्रस्ताव पारित गरी आवश्यक बजेट व्यवस्थापन गरेपछि सेवा सुरु गरिएको उनले जानकारी दिए।

महानगरपालिकाका अनुसार एम्बुलेन्सले फोन आएको १५ मिनेटभित्र घटनास्थल पुग्ने लक्ष्य राखेको छ। चिकित्सकले घटनास्थलमै आवश्यक प्रारम्भिक उपचार गरेपछि बिरामीको इच्छाअनुसार रोजेको अस्पतालसम्म पुर्‍याउने व्यवस्था गरिएको छ।

सेवा सञ्चालनका लागि ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य भएको छ। एम्बुलेन्सका लागि चिकित्सक उपलब्ध गराउने तथा उनीहरूको सेवा–सुविधासम्बन्धी खर्च महानगरपालिकाले व्यहोर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स