८ महिनामा नेपालको व्यापार घाटा १० खर्ब, निर्यात ५७ प्रतिशतले बढ्यो
नेपालको वस्तु तथा सेवाको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। चालू आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउनदेखि फागुनसम्म) मा नेपालले १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ, जुन गत वर्षको तुलनामा ५७.२० प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा १ खर्ब ६१ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।
निर्यात बढ्दा आयातमा पनि वृद्धि देखिएको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालले ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ, जुन गत वर्षको तुलनामा ११ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको आयात भएको थियो।
यसरी निर्यात बढे पनि व्यापार घाटा बढेको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ६.२२ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ थियो।