नेपालको राइड सेयरिङ एप ‘आयो यूजर’ले ४ मिलियन अमेरिकी डलर लगानी भित्र्याउने तयारीमा

नेपालको राइड सेयरिङ एप ‘आयो यूजर’ले ४ मिलियन अमेरिकी डलर लगानी भित्र्याउने तयारीमा

नेपाली राइड सेयरिङ एप आयो यूजर कम्पनीले सूचना प्रविधि (आइटी) क्षेत्रमा भविष्य खोज्दै लगानी भित्र्याउने तयारी गरेको छ। भरोसा नेटवर्क प्रा.लि. द्वारा सञ्चालित यस कम्पनीले अमेरिकी एक कम्पनीमार्फत पुँजीवादी उद्यम अन्तर्गत ४ मिलियन अमेरिकी डलर लगानी भित्र्याउने दाबी गरेको हो।

भरोसा नेटवर्क प्रालिका एक सञ्चालक भुलन लाखेका अनुसार, “सूचना प्रविधि (आइटी) क्षेत्रमा धेरै सफ्टवेयर बजारमा आइरहेका छन्। हामीले पनि यही क्षेत्रमा सेवा सुरु गरेका हौं। नेपालमा मेहनत गर्दा आइटी क्षेत्रबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने सोचका साथ लगानी गरेका थियौं, र अहिले त्यसको प्रतिफल प्राप्त हुन थालेको छ।”

सन् २०१८ मा स्थापना भएको यो कम्पनीले आयो यूजर राइड सेयरिङ एप सञ्चालनमा ल्याएको हो, र अहिले यस कम्पनीले साढे चार वर्षपछि अमेरिकी कम्पनीबाट ४ मिलियन अमेरिकी डलर लगानी भित्र्याउने दाबी गरेको छ। लाखेले भने, “उक्त लगानीको शैद्धान्तिक सहमति भइसकेको छ, र केही समयमै सम्झौतामा पुग्ने विश्वास छ।”

यस लगानीको प्रमुख उद्देश्य राइडरहरूको जीवनस्तर सुधार्ने र उनीहरुलाई थप सुविधा दिने तयारीमा रहेको छ। लाखेले थपे, “हामी राइडरहरूको जीवनस्तर उकास्न र उनीहरुलाई थप सुविधा दिने तरिकामा खर्च गर्न छलफल गरिरहेका छौं।”

कम्पनीले आफ्नो सफ्टवेयरलाई थप प्रभावकारी बनाउँदै ग्राहकलाई सरल र सुलभ सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ। साथै, अन्य कम्पनीहरुलाई पनि आइटी क्षेत्रमा लगानी गर्न र नागरिक सेवासँगै राम्रो आम्दानीका स्रोत सिर्जना गर्न प्रोत्साहन दिन चाहन्छ।

सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका नेपाली सेवामूलक कम्पनीहरूमा विदेशी कम्पनीहरूको लगानी ल्याउन सके, दक्ष जनशक्ति विदेश जान आवश्यक नपर्ने विशेषज्ञहरूको विचार छ।

राइड सेयरिङ क्षेत्रमा विदेशी कम्पनीहरूको प्रमुख प्रभाव रहेको र नेपाली कम्पनीहरूलाई दीगो रूपमा सञ्चालन गर्न चुनौती भइरहेका बेला भरोसा नेटवर्क नेपाली राइडरलाई रोजगारी र सेवा उपलब्ध गराउँदै सकारात्मक सन्देश दिने प्रयासमा छ। अहिले आयो यूजर एपमा लगभग ३,००० राइडर आवद्ध भएका छन्, जस मध्ये १०० राइडर नियमित रूपमा सेवा दिइरहेका छन्।

यस कम्पनीले बेरोजगार युवा युवतीलाई सुलभ शुल्कमा मोटरसाइकल र स्कुटर उपलब्ध गराउँदै स्वरोजगार बन्न चाहने राइडरलाई सहयोग प्रदान गर्दै आएको छ। आयो यूजर एप नेपालको पहिलो एप हो जसले विभिन्न प्रकारका सवारी साधन—मोटरसाइकलदेखि १० चक्के ट्रकसम्म—सामान ओसारपसारको सेवामा उपलब्ध गराउने दाबी गरेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स