डिजिटल साक्षरता, कृत्रिम बुद्धिमत्ता (AI), साइबर सुरक्षा र वित्तीय सचेतनासम्बन्धी सामग्री निर्माण गर्दै आएका डिजिटल सोलुसन प्रालिका संस्थापक रबिन पौडेलले बदलिँदो डिजिटल युगमा सफल हुन नयाँ पुस्ताले बहुआयामिक सीप विकास गर्नुपर्ने बताएका छन्।
‘बजारको चिरफार प्रिमियम पोडकास्ट’ मा कुराकानी गर्दै पौडेलले अहिलेको समयमा एउटै सीपमा सीमित भएर प्रतिस्पर्धा गर्न कठिन हुने उल्लेख गर्दै एआई, सञ्चार क्षमता (Communication Skills) र डिजिटल ज्ञान भविष्यका लागि अपरिहार्य बन्दै गएको बताए।
पौडेलका अनुसार उनको कन्टेन्ट क्रिएसन यात्रा करिब एक दशकअघि कृषि सम्बन्धी भिडियोबाट सुरु भएको हो। स्याङ्जामा सिकेको कृषि ज्ञानलाई भिडियोमार्फत साझा गर्दै सुरु भएको यात्रा अहिले डिजिटल साक्षरता, साइबर सुरक्षा, सामाजिक सुरक्षा कोष (SSF), वित्तीय शिक्षा र एआईसम्बन्धी सामग्रीसम्म विस्तार भएको उनले बताए।
नेपालमा बढ्दो साइबर ठगीबारे बोल्दै उनले मानिसहरू भावनात्मक निर्णय गर्ने प्रवृत्तिका कारण स्क्यामरहरूको निशानामा पर्ने गरेको बताए। उनका अनुसार ठगी गर्ने समूहले डर, हतार र जिज्ञासाको फाइदा उठाउँदै OTP, KYC अपडेट वा बैंक खातासम्बन्धी बहाना बनाएर व्यक्तिगत विवरण प्राप्त गर्ने प्रयास गर्छन्।
“हामी धेरैजसो तार्किकभन्दा भावनात्मक निर्णय गर्छौं। स्क्यामरहरूले त्यही कमजोरी प्रयोग गर्छन्,” उनले भने। साथै बैंक खाता, OTP, मोबाइल बैंकिङ पासवर्ड वा अन्य व्यक्तिगत विवरण कसैसँग पनि साझा नगर्न उनले आग्रह गरे।
कृत्रिम बुद्धिमत्ता (AI) अब भविष्यको विषय मात्र नभई वर्तमानको आवश्यकता बनिसकेको भन्दै पौडेलले अहिले एआई सिक्नेहरूले आगामी दिनमा प्रतिस्पर्धात्मक लाभ लिन सक्ने बताए।
“पहिले इन्टरनेट सिक्नेहरू अगाडि बढे। अहिले एआई सिक्नेहरू अगाडि बढ्ने समय हो,” उनले भने। उनका अनुसार एआईले केही परम्परागत रोजगारीमा प्रभाव पार्ने भए पनि नयाँ प्रकृतिका रोजगारी सिर्जना हुनेछन्।
युवालाई सन्देश दिँदै उनले ३० वर्षको उमेरअघि सकेसम्म धेरै सीप सिक्न, विभिन्न क्षेत्रमा अनुभव बटुल्न र आफ्नो क्षमता पहिचान गर्न सुझाव दिए। ३० वर्षपछि भने आफ्नो करियरको स्पष्ट दिशा तय गर्नुपर्ने उनको भनाइ छ।
व्यवसाय सञ्चालनको शैली पनि परिवर्तन हुँदै गएको उल्लेख गर्दै पौडेलले डिजिटल उपस्थितिविना प्रतिस्पर्धा गर्न कठिन हुने बताए। “अहिले सटरभन्दा कन्टेन्ट धेरै शक्तिशाली बनेको छ। राम्रो डिजिटल उपस्थिति भएको व्यवसायले देशभर ग्राहक पाउन सक्छ,” उनले भने।
सामाजिक सुरक्षा कोष (SSF) लाई दीर्घकालीन आर्थिक सुरक्षाको महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गर्दै उनले यसबारे सही जानकारी लिनुपर्ने आवश्यकता औँल्याए। साथै, बीमालाई बचतको माध्यमभन्दा जोखिम व्यवस्थापनको साधनका रूपमा लिनुपर्ने धारणा राख्दै कम प्रिमियममा उच्च जोखिम कभरेज दिने टर्म लाइफ इन्स्योरेन्स धेरैका लागि उपयुक्त विकल्प हुन सक्ने बताए।
प्रतिकृया