फोनपेले आफ्नो फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता ५० हजार नाघेको जनाएको छ। सेवा सुरु भएको दुई वर्षभन्दा केही समयमै यो संख्या पार हुनु नेपालमा डिजिटल क्रेडिटप्रति उपभोक्ताको बढ्दो विश्वास र सहज तथा प्रविधिमैत्री कर्जा समाधानको माग बढ्दै गएको संकेतका रूपमा देखिएको छ।
फोनपे क्रेडिट कार्ड नेपालको मोबाइल बैंकिङ एपमै प्रत्यक्ष रूपमा एकीकृत गरिएको पहिलो पूर्णतः भर्चुअल क्रेडिट कार्ड भएको कम्पनीले जनाएको छ। यसमार्फत ग्राहकले आफ्नै बैंकिङ एपबाट क्रेडिट कार्डका लागि आवेदन दिन, कार्ड प्राप्त गर्न र सक्रिय गर्न सक्ने व्यवस्था छ।
हाल सिटिजन्स बैंक इन्टरनेसनल, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्स गरी नौ साझेदार बैंकका मोबाइल बैंकिङ एपमार्फत फोनपे क्रेडिट कार्ड सेवा लिन सकिन्छ। कार्डमार्फत देशभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टहरूमा स्क्यान गरी भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।
फोनपेले यो उपलब्धिले डिजिटल माध्यमबाट प्रदान हुने वित्तीय सेवाप्रति उपभोक्ताको विश्वास बढ्दै गएको देखाएको जनाएको छ। दैनिक प्रयोग हुने बैंकिङ प्लेटफर्ममै क्रेडिट सुविधा उपलब्ध गराउँदा औपचारिक क्रेडिटलाई थप समावेशी, पहुँचयोग्य र सहज बनाउन सहयोग पुगेको कम्पनीको भनाइ छ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले फोनपे क्रेडिट कार्डले परम्परागत क्रेडिट कार्डको तुलनामा छोटो अवधिमै उल्लेखनीय प्रयोगकर्ता हासिल गरेको बताएका छन्।
“नेपालमा परम्परागत क्रेडिट कार्डको इतिहास ३६ वर्ष लामो छ र हालसम्म यसको संख्या ३ लाखभन्दा केही बढी पुगेको छ। फोनपे क्रेडिट कार्डले भने केवल दुई वर्षमै ५०,००० प्रयोगकर्ता पार गरेको छ। तर यो उपलब्धि केवल गति वा संख्याको विषय होइन। यो क्रेडिटको पहुँचलाई उल्लेखनीय रूपमा विस्तार गर्दै यसलाई विशेषाधिकार प्राप्त वर्गमा मात्र सीमित नराखी हरेक नेपालीका लागि थप समावेशी र पहुँचयोग्य बनाउने विषय हो। यो कोशेढुंगाले नेपाल डिजिटल क्रेडिटतर्फ कति तीव्र गतिमा अघि बढिरहेको छ भन्ने संकेत गर्छ। हाम्रो दृष्टिकोण डिजिटल युगका लागि क्रेडिटलाई पुनःपरिभाषित गर्नु हो, जहाँ क्रेडिट कार्ड प्राप्त गर्नु स्क्यान गरेर भुक्तानी गरेजत्तिकै सहज होस्। यो उपलब्धि सुरुदेखि नै हामीमाथि विश्वास गर्ने बैंकहरूको सहकार्यबिना सम्भव हुने थिएन। उनीहरूले प्रमाणको प्रतीक्षा गरेनन्, बरु प्रमाण निर्माण गर्ने यात्रामा हामीसँगै अघि बढे।”
कम्पनीका अनुसार फोनपे क्रेडिट कार्डको विस्तारले नेपालमा एम्बेडेड फाइनान्सको बढ्दो प्रयोगलाई समेत देखाएको छ। तत्काल, कागजरहित र डिजिटल बैंकिङ सेवातर्फ ग्राहकको अपेक्षा बढिरहेका बेला फोनपे क्रेडिट कार्डले क्रेडिट सेवा प्रदान गर्ने शैलीलाई थप डिजिटल बनाउँदै लगेको कम्पनीको दाबी छ।
फोनपेले आगामी दिनमा साझेदार बैंकसँगको सहकार्यलाई थप विस्तार गर्दै उत्पादन नवप्रवर्तन र ग्राहक अनुभवमा सुधार गर्ने जनाएको छ। साथै, लाखौँ नेपालीसम्म डिजिटल क्रेडिटको पहुँच विस्तार गर्दै नेपालको डिजिटल वित्तीय प्रणालीको विकासमा योगदान गर्ने लक्ष्य कम्पनीले लिएको छ।

प्रतिकृया