नेपाल टेलिकमका सबै टावरमा विद्युत् पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

नेपाल टेलिकमका सबै टावरमा विद्युत् पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन
Advertisement Ads

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका सबै टावरमा सम्भव भएसम्म भरपर्दो विद्युत् सेवा पुर्‍याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न निर्देशन दिएका छन्। सञ्चार मन्त्रालयमा आयोजित अन्तरनिकाय छलफलमा उनले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधारका लागि समस्या समाधानमा नतिजामुखी ढङ्गले अघि बढ्न आग्रह गरेका हुन्।

छलफलमा नेपाल टेलिकमका ‘बेस ट्रान्ससिभर स्टेशन’ (बीटीएस), टावर तथा अन्य दूरसञ्चार उपकरणमा भरपर्दो विद्युत् आपूर्ति नपुग्दा देशका विभिन्न क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा प्रभावित भइरहेको विषयमा समीक्षा गरिएको थियो।

मन्त्री तिमिल्सिनाले नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गर्न कार्यसमूह गठन गरी स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिए। उनले सबै निकायले सम्पर्क व्यक्ति तोकी नियमित समन्वय गर्नुपर्नेमा पनि जोड दिए।

उनले सम्भव भएसम्म सबै टेलिकम टावरमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुर्‍याउने विषयमा सञ्चार मन्त्रालय र ऊर्जा मन्त्रालय दुवै प्रतिबद्ध रहेको उल्लेख गर्दै विद्युत् पहुँच नपुगेका टावरको विवरण नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराई प्राथमिकताका आधारमा विद्युत् विस्तार गर्नुपर्ने बताए। साथै, कम भोल्टेजका कारण सेवा प्रभावित भएका क्षेत्रमा वितरण प्रणालीको क्षमता विस्तार गर्न पनि उनले आग्रह गरे।

मन्त्री तिमिल्सिनाले फोरजी सेवाको गुणस्तर सुधार गर्दै क्रमशः फाइभजी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने बताए। दुर्गम तथा ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को प्रभावकारी परिचालन गर्न तथा काठमाडौं उपत्यकासहित प्रमुख सहरमा अव्यवस्थित रूपमा झुन्डिएका तार व्यवस्थापनमा पनि सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

छलफलमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हाल ३१६ वटा टेलिकम टावरमा राष्ट्रिय प्रसारण लाइनबाट भरपर्दो विद्युत् उपलब्ध नभएको र ती टावर सौर्य ऊर्जाको भरमा सञ्चालन भइरहेको जानकारी दिइन्। उनले करिब दुई हजार नयाँ टावर निर्माणको योजना रहेको र तीमध्ये करिब १,४०० टावरमा नयाँ विद्युत् लाइन विस्तार गर्नुपर्ने आवश्यकता रहेको पनि बताइन्।

नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिले टेलिकमका टावरमा विद्युत् पहुँच विस्तार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आगामी दिनमा नयाँ टावर निर्माणसँगै विद्युत् पूर्वाधार विस्तार गर्ने गरी संयुक्त योजना बनाउनुपर्नेमा जोड दिए। यस्तै, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले राष्ट्रिय प्रसारण लाइन पुग्न कठिन हुने स्थानमा सौर्य तथा लघुजलविद्युत् प्रणालीमार्फत टेलिकम टावरमा विद्युत् उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स