बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज फेरि २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम खिच्न लागेको हो।
राष्ट्र बैंकले साउन २९ गते २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणका लागि बोलकबोल आह्वान गरेको छ। यसको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र उक्त बोलकबोलमा सहभागी हुन पाउनेछन्।
बोलकबोल आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान रकमसम्म, १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी रकमका लागि बोलकबोल गर्न सक्नेछन्।
राष्ट्र बैंकले जारी गर्ने यो निक्षेप संकलन उपकरणको अवधि ३५ दिन रहेको छ। यसको साँवा तथा ब्याज आगामी असोज २ गते भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि पछिल्लो समय निक्षेप संकलन उपकरणमार्फत नियमित रूपमा रकम प्रशोचन गर्दै आएको छ।
प्रतिकृया