नेपाल प्रहरीद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

नेपाल प्रहरीद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

जेनजी आन्दोलनपछि प्रहरी कार्यालयहरूको पुनःसंभार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याएको भन्दै नेपाल प्रहरीले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ। आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले आयोजना गरेको कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गोल्याणलाई सम्मान गरेका हुन्।

नेपाल प्रहरीले भदौ २३–२४ मा भएको ‘नवपुस्ताको आन्दोलन’ पश्चात् समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउन ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्दै आएको छ। सोही अभियानअन्तर्गत गोल्याण ग्रुपले प्रहरी कार्यालयहरूको पुनःसंभार तथा पुनर्स्थापनाका लागि २१ लाख १ हजार ३९५ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो।

सम्मानपछि अध्यक्ष गोल्याणले जनताको ज्यान–धनको सुरक्षा र समाजमा शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी बोकेको नेपाल प्रहरीलाई संकटको समयमा साथ दिनु आफ्नो कर्तव्य भएको बताए। ‘नेपाल प्रहरी जनताको हरपलको साथी हो भन्ने विश्वासलाई अझ मजबुत बनाउन गोल्याण ग्रुपले सहकार्य गरेको हो,’ उनले भने, ‘उच्च मनोबलयुक्त, सबल र सक्षम प्रहरीले मात्र आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्छ, त्यसका लागि प्रहरीका भौतिक संरचनाहरू पनि सुरक्षित र स्तरीय हुन आवश्यक छ।’

काठमाडौं महानगरपालिका–२३ का वडाध्यक्ष मचाराजा महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा महानगरका उपप्रमुख सुनिता डंगोल, प्रहरी अतिरिक्त महानिरीक्षक ओमप्रसाद अधिकारी, माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, काठमाडौंका प्रमुख जिल्ला अधिकारी इश्वरराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको उपस्थिति रहेका थिए।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स