नेपाल इन्स्योरेन्सको हकप्रद सेयर साउन ६ गतेबाट खुल्दै, कहिलेसम्म कायम सेयरधनीले भर्न पाउने?
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो साउन ६ गतेदेखि ३४.७८३ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १० बराबर ३.४७८३ को अनुपातमा ६५ लाख ७६ हजार ९६७.७६ कित्ता सेयर निष्काशन गर्न लागेको हो। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ।
हकप्रद सेयरका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ। सो आधारमा जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर खरिद गरेका सेयरधनीहरूलाई मात्र आवेदन दिने अधिकार प्राप्त हुनेछ।
आवेदन दिने अन्तिम मिति साउन २६ गते तोकिएको छ। इच्छुक सेयरधनीहरूले बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको लाजिम्पाटस्थित केन्द्रीय कार्यालय, साथै पोखरा (चिप्लेढुङ्गा), बुटवल (ट्राफिकचोक), वीरगंज (आदर्शनगर), र विराटनगर (गोल्छाचोक) स्थित शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाहरूबाट पनि आवेदन दिन सकिनेछ। साथै, इच्छुक लगानीकर्ताहरूले ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइन माध्यमबाट पनि आवेदन दिन सक्नेछन्।
बीमा प्राधिकरणको निर्देशनअनुसार चुक्ता पूँजी वृद्धि गर्न कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ रहेको छ, जुन हकप्रद निष्कासनपछि बढेर २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।