आज पाँच कम्पनीले लाभांश घोषणा गरेका छन् । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेका हुन् ।
नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ४ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कर प्रयोजनका लागि थप ०.६५७८ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरिएको छ। कम्पनीको हालको चुक्ता पूँजी ५ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ।
सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २०.२६३२ प्रतिशत दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसमा ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) समावेश छ। पुस २ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले हिजो बसेको बैठकमा १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत दरले (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय पुस ३ गते बसेको सञ्चालक समितिको बैठकमा गरेको हो। लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.४२१ प्रतिशत नगद लाभांश गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तामा वितरण गरिनेछ।







![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-768x432.jpg)



![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया