नेपाल क्यान मुभले अष्ट्रेलियामा सर्भर राखेर १ अर्ब ३७ करोडको कर छली गरेको खुलासा
नेपाल क्यान मुभ प्रालिले करोडौं रुपैयाँ कर छली गरेको पाइएको छ। काठमाडौँको तीनकुनेस्थित यस कम्पनीले अष्ट्रेलियामा सर्भर राखेर सेवा बिक्री गरे पनि ती कारोबार मूल्य अभिवृद्धि कर (VAT) र आय विवरणमा नदेखाई कर प्रशासनलाई छल्ने काम गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ। विभागका अनुसार कम्पनीले झन्डै ६८ करोड ४४ लाख रुपैयाँ बराबरको कर छली गरेको पुष्टि भएको छ, जसमा शतप्रतिशत जरिवाना जोडेर कूल एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० रुपैयाँ असुलीको माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो।
अनुसन्धान अनुसार कम्पनीका प्रमुख सञ्चालक तथा सेयरधनीहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेल कर छलीमा संलग्न देखिएका छन्। विभागले उनीहरूमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिमको कसुरमा कारबाही अघि बढाएको छ।
कम्पनीले एनसिएम पोर्टलको माध्यमबाट सन् २०७६/७७ देखि सेवा बिक्री गर्दै आएको थियो। तर, सर्भर अष्ट्रेलियामा राखी कारोबार लुकाएर म्यानुअल बिलिङ गर्ने र वास्तविक आम्दानी विवरणहरू आन्तरिक राजस्व विभागमा नदिई कर छली गर्ने कार्य गर्दै आएको विभागले जनाएको छ। विभागले कम्पनीको कार्यालयमा आकस्मिक निरीक्षण गर्दै कारोबारका महत्वपूर्ण कागजात, ट्रायल ब्यालेन्स तथा डिजिटल प्रणालीसमेत नियन्त्रणमा लिएको थियो।
मुख्य आरोपीहरू सुदीप आचार्य (५५.३३% सेयर स्वामित्व) र जीवन ज्ञवाली (१६% सेयर स्वामित्व) विभागको ताकेता पछि पनि अनुसन्धानका लागि उपस्थित नभई फरार रहेको जनाइएको छ।
यता उप–कार्यकारी निर्देशक सङ्गम पौडेलले भने मतियारका रूपमा भूमिका खेलेको ठहर गर्दै विभागले मुख्य दोषीहरूलाई हुने सजायको तुलनामा आधा सजाय र क्षतिपूर्ति शुल्कको मागसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।