विपद्पछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिँदै प्रभावित क्षेत्रमा सरकारी संयन्त्र परिचालन गरेको छ। नुवाकोट र रसुवामा नेपाली सेनाका तीन हेलिकप्टरसहितको टोली पठाइएको छ भने चार जिल्लाका सुरक्षा निकायलाई फिल्डमा खटाइएको छ।
नेपाली सेनाका दुई उद्धार हेलिकप्टर तथा स्वास्थ्यकर्मीसहितको एक एमआई–१७ हेलिकप्टर टोली नुवाकोट र रसुवातर्फ प्रस्थान गरेको छ। धादिङ, नुवाकोट, रसुवा र चितवनमा रहेका सबै सुरक्षा निकायलाई उद्धार तथा राहतका लागि परिचालन गरिएको छ।
उद्धार र समन्वयलाई सहज बनाउन धादिङ, नुवाकोट, रसुवा र चितवनमा नेपाल टेलिकमको फोन तथा डेटा सेवा निःशुल्क गरिएको छ।
यसैबीच, प्रधानमन्त्रीको अध्यक्षतामा बिहान ११ बजे बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सम्पन्न भएको छ। बैठकले उद्धार, राहत र समन्वयका लागि देशका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ।
सरकारले राहत, उद्धार तथा खोजी कार्यमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति आवश्यक नपर्ने निर्णय गरेको छ। त्यस्ता हेलिकप्टरमा इन्धन भर्न नेपाल आयल निगमले हवाई इन्धनसहितको ट्यांकर काठमाडौंंबाट नुवाकोटको त्रिशूलीतर्फ तत्काल पठाएको छ।
यसैबीच, सरकारको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी रहेको छ।

प्रतिकृया