नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढिरहेको बताएका छन्। गोरखास्थित भीमोदय बहुमुखी क्याम्पस आरुघाटका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई पूर्खाको नासो’ पुस्तक लोकार्पण गर्दै उनले सुशासन, सामाजिक न्याय, र समृद्धिको बाटो हुँदै समाजवाद निर्माणमा केन्द्रित रहेको धारणा राखे।
अध्यक्ष प्रचण्डले तीनपटकको प्रधानमन्त्री कार्यकाललाई महत्वपूर्ण अनुभवका रूपमा स्मरण गरे। पहिलो कार्यकालमा मध्यपहाडी लोकमार्गको सुरुवात र गरीबको कृषि ऋण मिनाहजस्ता कार्यक्रमले नयाँ युगको शुरुवात गरेको उनले उल्लेख गरे। दोस्रो कार्यकालमा संविधानको कार्यान्वयन र लोडसेडिङमुक्त नेपालको नेतृत्व आफ्नो मुख्य उपलब्धि भएको प्रचण्डको भनाइ छ। तेस्रो कार्यकाललाई उनले सबैभन्दा उपलब्धिपूर्ण बताउँदै भ्रष्टाचार, विभेद, र आर्थिक समस्याहरूले ग्रस्त देशलाई सुशासन, सामाजिक न्याय, र समृद्धिको अभियानमार्फत् नयाँ आशा जगाउने ढोका खोलेको दाबी गरे।
कार्यक्रममा प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसांस्कृतिक मुलुक भएकाले हरेक समुदायको पहिचान र संस्कृतिलाई राष्ट्रिय एकतामा समेट्नुपर्नेमा जोड दिए। हरेक समुदायका संस्कृतिलाई राष्ट्रिय संस्कृतिका रूपमा स्थापित गर्न आफूले विशेष ध्यान दिएको र यसमा सफल भएको दाबी गर्दै उनले समाजवाद निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको बताए।
आरुघाटसँग आफ्नो विशेष सम्बन्ध रहेको स्मरण गर्दै प्रचण्डले राजनीतिमा पूर्णकालीन रूपमा होमिनुअघि तीन वर्षसम्म शिक्षकका रूपमा अध्यापन गरेको अनुभव सुनाए। उनले विद्यालयमा पढाउनुका साथै किसानहरूका लागि प्रौढ कक्षा, कृषि आधुनिकीकरण, र सरसफाइका अभियानहरू सञ्चालन गरेको उल्लेख गरे। यसले जनतासँग जोडिन र आफ्नो भावी जीवनको दिशा तय गर्न ठूलो भूमिका खेलेको उनको भनाइ थियो।
















प्रतिकृया