भारतमा बनेको एमजी विन्डसर ईभी नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?
एमजी ब्रान्ड अन्तर्गतको नयाँ विद्युतीय सवारीसाधन ‘एमजी विन्डसर ईभी’ बुधबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। नेपालमा एमजी ब्रान्डको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नयाँ सीयूभी (कम्प्याक्ट युटिलिटी भेहिकल) सार्वजनिक गरेको हो।
एमजी विन्डसर ईभी दुई भेरियन्टमा उपलब्ध छ, जसको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ र अर्को भेरियन्टको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। भारतमा निर्मित जेएसडब्लू एमजीको यो दोस्रो विद्युतीय मोडल हो। यसअघि भारतमै निर्मित कोमेट मिनी ईभी नेपाली बजारमा बिक्री भइसकेको छ।
पारामाउन्ट मोटर्सका कार्यकारी प्रमुख सुनीलबहादुर क्षेत्रीले विन्डसर ईभीले नेपालमा विद्युतीय सवारीको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। उनले भारतीय बजारमा राम्रो प्रतिक्रिया पाएको यो मोडलले नेपाली बजारमा पनि अन्य प्रतिस्पर्धी ब्रान्डसँग सजिलै टक्कर दिने दाबी गरे।
विन्डसर ईभी एक लक्जरी फिचरले भरिएको आधुनिक सीयूभी हो। यसमा वायरलेस चार्जर, अटोमेटिक एसी, इलेक्ट्रिकली एड्जस्ट हुने फ्रन्ट सिट, पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल र ३६० डिग्री क्यामेरा जस्ता सुविधा छन्।
गाडीमा ३८ किलोवाट-आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ, जसले कम्पनीका अनुसार एकपटकको चार्जमा ३३१ किलोमिटरसम्मको रेन्ज दिन सक्छ। भारतको सहरी परीक्षणमा यसले ३२७ किलोमिटर रेन्ज दिएको बताइएको छ। साथै, यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ, जसले २०० एनएम टर्क उत्पादन गर्न सक्छ।
डिजाइनको हिसाबले विन्डसर ईभी निकै आकर्षक र आधुनिक छ। यसमा फ्लश डोर ह्याण्डल, एलईडी लाइटहरू, १८ इन्चको अलोय ह्वील, पानारोमिक ग्लास रुफ, १३५ डिग्रीसम्म झुक्न सक्ने पछिल्लो सिट, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट प्यानल र १५.६ इन्चको फ्लोटिङ टचस्क्रिन सेन्टर कन्ट्रोल सिस्टम जडान गरिएको छ। गाडीमा चारवटै पाङ्ग्रामा डिस्क ब्रेकसहित ६ स्पिकर पनि राखिएको छ।