धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा फोर–जीसहित टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले टावर जडान गरी सोमबारदेखि सेवा सञ्चालनमा ल्याएको हो।
जनैपूर्णिमाको अवसरमा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सेवा सुरु भएपछि स्थानीय, तीर्थयात्री, पर्यटक तथा सरकारी निकायलाई सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ। टावर करिब ४ हजार २३० मिटर उचाइको लौरी विनायकमा स्थापना गरिएको हो।
उच्च हिमाली भूगोल र सामग्री ढुवानीको कठिनाइका कारण टावर निर्माण चुनौतीपूर्ण बनेको थियो। सडकमार्फत सामग्री पुर्याउन सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत आवश्यक उपकरण तथा सामग्री बडीमालिका पुर्याइएको थियो।
सेवा सञ्चालनको भर्चुअल उद्घाटन गर्दै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दुर्गम क्षेत्रका नागरिकलाई सञ्चार सेवाबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए। नेपाल टेलिकमले आगामी दिनमा अन्य दुर्गम तथा पर्यटकीय क्षेत्रमा समेत फोर–जी सेवा विस्तार गर्ने जनाएको छ।


प्रतिकृया