देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य: सञ्चारमन्त्री तिमिल्सिना

देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य: सञ्चारमन्त्री तिमिल्सिना
Advertisement Ads

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्।

नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै उनले युवालाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

“कुनै पनि देशको सबैभन्दा ठूलो शक्ति र पुँजी भनेको युवा जनशक्ति हो। अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी युवालाई स्वदेशमै आफ्ना सपना पूरा गर्न र आर्थिक समुन्नति हासिल गर्न सकिँदैन। त्यसका लागि सरकारले आवश्यक वातावरण बनाउने र निजी क्षेत्रले त्यसमा साथ दिने हो,” उनले भने।

मन्त्री तिमिल्सिनाले विश्वभर युवाको उद्यमशीलताप्रतिको आकर्षण र संलग्नता बढिरहेको उल्लेख गर्दै नेपालमा पनि उनीहरूको क्षमता र सम्भावनालाई उत्पादन, सेवा तथा प्रविधिका क्षेत्रमा उपयोग गर्न सहजीकरण भइरहेको बताए। नवप्रवर्तन र उद्यमशीलताको विकासका लागि सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र अन्य सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

उनले सूचना प्रविधिका क्षेत्रमा नेपालमै दक्ष जनशक्ति र विज्ञ विकास भइरहेको उल्लेख गर्दै यसलाई मुलुकको आर्थिक रूपान्तरणको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। अहिले ठूलो सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेश जाने गरेको अवस्थामा सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्व बजारमा सेवा प्रदान गर्न सकिने उनले बताए।

Advertisement Ads

“अब हामीले श्रम र जनशक्ति होइन, सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ। सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्वभर सेवा दिन सकिन्छ। यसले युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्नुका साथै मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन सक्छ,” उनले भने।

सूचना प्रविधिको सम्भावना उपयोग गर्न डिजिटल विभाजन अन्त्य गर्ने, इन्टरनेटको पहुँच विस्तार गर्ने र सेवाको गुणस्तर सुधार गर्ने कामलाई सरकारले प्राथमिकता दिएको मन्त्री तिमिल्सिनाले बताए। दूरसञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ-जी सेवा सुरु गर्ने गरी काम गरिरहेको उनले जानकारी दिए।

सूचना प्रविधिबाट मुलुकले अधिकतम आर्थिक लाभ लिन सक्ने उपायबारे सम्बन्धित निकायसँग छलफल भइरहेको उल्लेख गर्दै उनले प्रविधिको विस्तारलाई रोजगारी, उत्पादन र आर्थिक गतिविधिसँग जोड्नुपर्ने बताए।

प्रविधि र मानवीय सिर्जनशीलताको सम्बन्धबारे चर्चा गर्दै मन्त्री तिमिल्सिनाले प्रविधिलाई मानिसको महत्त्व घटाउने माध्यम नभई उसको क्षमता अभिवृद्धि गर्ने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे।

“प्रविधिलाई मानवीय सिर्जनासँग जोड्न सक्नुपर्छ र त्यसबाट अधिकतम लाभ लिनुपर्छ। सूचना प्रविधिले कामको प्रकृति परिवर्तन गर्न सक्छ, तर यसले मानिसको महत्त्व घटाएको छैन। प्रविधिलाई एउटा उपकरणका रूपमा प्रयोग गरेर त्यसबाट लाभ लिन सक्नुपर्छ,” उनले भने।

सरकारको जिम्मेवारी नीति निर्माणमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले नीतिको प्रभावकारी कार्यान्वयनमार्फत नागरिक, उद्यमी र समग्र अर्थतन्त्रले प्रत्यक्ष लाभ प्राप्त गर्ने वातावरण बनाइने बताए।

शिक्षा र सीप विकासको बदलिँदो प्रवृत्तिबारे उनले विगतमा शैक्षिक योग्यता हासिल गर्न बढी प्राथमिकता दिइने गरेकोमा अहिले भविष्यमा आवश्यक पर्ने सीप र क्षमतामा आधारित शिक्षातर्फ ध्यान बढिरहेको बताए। युवालाई बजारको मागअनुसार दक्ष बनाउँदै उद्यमशीलताका लागि तयार गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले कृत्रिम बौद्धिकता (एआई) का क्षेत्रमा नेपालको अवस्था सुधार हुँदै गए पनि अझै कमजोर रहेको बताए।

उनले एआई र उद्यमशीलताका क्षेत्रमा नेपाली युवाको सहभागिता बढ्दै गएको तथा सूचना प्रविधिमा लगानीसमेत विस्तार भइरहेको उल्लेख गरे। यस अवसरको उपयोग गर्न सरकारले एआईसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिएको उनको भनाइ थियो।

डा. झाले एआईको प्रयोगबाट सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन, अर्थतन्त्रमा योगदान बढाउन, तथ्याङ्कको सुरक्षा सुनिश्चित गर्न तथा विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिने बताए। उत्पादन र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रलाई थप प्रतिस्पर्धी बनाउन पनि एआईले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनले उल्लेख गरे।

एआईले विभिन्न समस्या समाधान गर्न सहज बनाउनुका साथै कामको दक्षता बढाउन सहयोग गरिरहेको उल्लेख गर्दै उनले यस प्रविधिको सही उपयोगबाट नेपालले पनि लाभ लिन सक्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स