श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ। विभागले श्रम ऐन, २०७४ अनुसार श्रमिकले पाउनुपर्ने सुविधा उपलब्ध गराउन आग्रह गरेको हो।
श्रम ऐनको दफा ३७ अनुसार प्रत्येक श्रमिकले प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि आफूले खाइपाइ आएको १ महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।
रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराएमा सम्बन्धित श्रमिकले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्नेछन्।
विभागका अनुसार उजुरी, गुनासो तथा सुझावका लागि [email protected] मा इमेल गर्न सकिनेछ। साथै, विभागले उजुरी दिन क्यूआर कोडको व्यवस्था पनि गरेको छ। थप जानकारी विभागको आधिकारिक वेबसाइट www.dolos.gov.np मा उपलब्ध छ।


प्रतिकृया