नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा सरकारले तोकेकोभन्दा बढी सवारी भाडा नलिन यातायात व्यवसायी तथा सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले तोकिएकोभन्दा बढी भाडा लिने सवारीसाधनमाथि कारबाही गरिने बताएका छन्।
सरकारले यस वर्षको दशैँलाई लक्षित गर्दै असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यात्रु तथा मालवाहक यातायातलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संघ–संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा यस्तो व्यवस्था गरिएको हो।
महासंघले सातै प्रदेश, जिल्ला समिति, सदस्य संघ–संस्था तथा काठमाडौंको गोंगबु बसपार्कमा कार्यरत शाखा प्रमुख र कर्मचारीलाई आवश्यक निर्देशन दिएको जनाएको छ। अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।
दशैँको यात्रु चाप व्यवस्थापन गर्न असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने रोक नलगाइने महासंघले जनाएको छ।
यस्तै, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि नेपालभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ। सडकको विशेष प्रकृतिका कारण निश्चित आकार–प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहनेछ।
काठमाडौं उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले ‘फोकल पर्सन’सहितको टोली परिचालन गर्नेछ। महासंघले गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, गौशाला तथा चाबहिल क्षेत्रमा आफ्ना प्रतिनिधिलाई जिम्मेवारी तोकेको छ।
यसैगरी, दसैँका लागि यात्रुवाहक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई प्राथमिकता दिइएको छ। यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाएर गोंगबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाइनेछ।

प्रतिकृया