आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि, निर्णय र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू समेटिएको बजारको चिरफार Evening Walk मा स्वागत छ।
आज सेयर बजारमा के–के भयो? कुन कम्पनी वा निकायले के निर्णय गरे? र लगानीकर्ताले जान्नुपर्ने मुख्य विषय के रहे? दिनभरका प्रमुख घटनाक्रमलाई छोटकरीमा प्रस्तुत गर्दैछौं।
आज सेयरबजारमा के भयो?
असोज २२ गते बिहिबार नेप्से परिसूचक २.३१ अंकले घटेर २,५७४.६५ विन्दुमा बन्द भएको छ। आज सेयर बजारमा ३ अर्ब ९३ करोड बराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये १४० कम्पनीको सेयर मूल्य बढेको, १२७ कम्पनीको सेयर मूल्य घटेको र ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
असोज र कार्तिकमा ६ वटा कम्पनीको लकइन खुल्दै, कुनको कति कित्ता सेयर बाहिरिँदै ?
धितोपत्र दोस्रो बजारमा असोज र कार्तिकमा ६ कम्पनीका लक–इन सेयरको अवधि सकिँदैछ। लक–इन अवधि समाप्त भएसँगै ती सेयर दोस्रो बजारमा कारोबारयोग्य हुनेछन्। असोज र कार्तिकमा लक–इन अवधि सकिन लागेका कम्पनीमा सोनापुर मिनरल्स एन्ड आयल, माथिल्लो मैलुङ खोला जलविद्युत्, कालिन्चोक हाइड्रोपावर, एपोलो हाइड्रोपावर, सोपान फार्मास्युटिकल्स र चिरख्वा हाइड्रोपावर रहेका छन्।
उपलब्ध विवरणअनुसार सोनापुर मिनरल्स एन्ड आयलको १ करोड ८४ लाख ६९ हजार ८०० कित्ता संस्थापक र कर्मचारीको सेयर असोज २३ गतेपछि लक–इनबाट बाहिरिनेछ।
त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत्को ८४ लाख ९० हजार ८०० कित्ता संस्थापक र स्थानीयको सेयर कार्तिक २ गते खुल्नेछ।
कालिन्चोक हाइड्रोपावरको ४१ हजार २५० कित्ता म्युचुअल फन्ड सेयर कार्तिक ६ गते तथा एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता म्युचुअल फन्डतर्फको लक–इन सेयर कार्तिक १० गते खुल्नेछ।
यसैगरी, सोपान फार्मास्युटिकल्सको २ लाख १० हजार ९६५ कित्ता म्युचुअल फन्ड सेयर कार्तिक १६ गते र चिरख्वा हाइड्रोपावरको ३० लाख २० हजार ७०० कित्ता संस्थापक र स्थानीयको कार्तिक १४ गते लक–इनबाट बाहिरिनेछ।
बाढीपछि रसुवागढी हाइड्रोको अवस्था कस्तो छ ?
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको जनाएको छ।
गोसाइँकुण्ड गाउँपालिका–१ र २, रसुवामा रहेको आयोजनाको बाँधस्थलका बाहिरी संरचना, साइट कार्यालय, कर्मचारी आवास, सवारीसाधन, हेभी इक्विपमेन्ट, निर्माण सामग्री, पक्की पुल र पहुँचमार्गमा ठूलो क्षति पुगेको छ। भूमिगत विद्युतगृहमा समेत मलवा भरिएको र त्यहाँ रहेका इलेक्ट्रोमेकानिकल उपकरणमा क्षति पुगेको कम्पनीले जनाएको छ।
बाढीबाट आयोजनाको प्रसारण लाइनका तीन वटा टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। आयोजनाको १११ मेगावाट विद्युत् उत्पादन क्षमता नै प्रभावित भएकाले हाल उत्पादन पूर्ण रूपमा बन्द रहेको छ। क्षतिको विस्तृत प्राविधिक मूल्याङ्कन भने जारी रहेको कम्पनीले जनाएको छ।
मानवीय क्षतितर्फ आयोजनामा कार्यरत नियमित तथा करार सेवाका ५० जना, दैनिक ज्यालादारीका २ जना, विभिन्न ठेकेदार कम्पनीमार्फत कार्यरत ३९ जना र कम्पनीका सञ्चालक श्री सुनौँ तामाङसहित ९२ जनाको अवस्था हालसम्म अज्ञात रहेको कम्पनीले जनाएको छ। कम्पनीका करार सेवातर्फका एक कर्मचारीको शव भने पहिचान भएको छ।
आयोजनाका भौतिक संरचना, मेसिनरी, सवारीसाधन तथा कर्मचारीको बीमा बाढी आउँदाको अवस्थामा चालु रहेको कम्पनीले जनाएको छ। सम्बन्धित बीमा कम्पनीलाई क्षतिको जानकारी गराई दाबी प्रक्रिया अघि बढाइएको छ। विस्तृत मूल्याङ्कनपछि दाबी रकम यकिन गरी पूर्ण दाबी पेस गर्ने तयारी भइरहेको छ।
बाढीबाट भएको क्षतिको प्रारम्भिक वित्तीय प्रभावसमेत यकिन हुन सकेको छैन। आयोजनाको पुनः सञ्चालनको समय पनि अहिले निर्धारण गर्न नसकिने कम्पनीले जनाएको छ। स्याफ्रुबेंसीदेखि आयोजनास्थलसम्मको करिब १६ किलोमिटर सडक र चार वटा पक्की पुल पूर्ण रूपमा क्षतिग्रस्त भएकाले ती संरचना पुनर्निर्माण भएपछि मात्रै आयोजनास्थलमा कम्पनीका गतिविधि अघि बढाउन सकिने अवस्था रहेको छ।
उत्पादन बन्द भएपछि कम्पनीको नगद प्रवाह तथा ऋण सेवा क्षमतामा समेत असर पर्न सक्ने देखिएको छ। कम्पनीमा विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन तथा अल्पकालीन गरी करिब १७ अर्ब ७० करोड रुपैयाँ ऋण रहेको छ।
बाढीपछि कम्पनीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धारलाई प्राथमिकता दिएको जनाएको छ। भूमिगत विद्युतगृहमा खोज तथा उद्धारका लागि मिनी स्काभेटर, जेनेरेटर र मोटरपम्पलगायत उपकरण प्रयोग गरिएको थियो। साथै, नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित आठ जना दक्ष पर्वतारोहीमार्फत आयोजनास्थलका विभिन्न क्षेत्रमा थप खोजीसमेत गरिएको कम्पनीले जनाएको छ।
हाल कम्पनीले आयोजनास्थलको पहुँच तथा सुरक्षा अवस्था सुधार, क्षतिग्रस्त संरचनाको प्रारम्भिक निरीक्षण, बीमा कम्पनी तथा सम्बन्धित निकायलाई जानकारी गराउने र पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रिया अघि बढाइरहेको छ।
नेशनल लघुवित्तका ७ जना संस्थापक सेयरधनीले सेयर बेच्दै, कसले कति कित्ता ?
नेशनल लघुवित्त वित्तीय संस्थाका ७ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५० हजार २९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन्। संस्थाले असोज २२ गते ३५ दिने सार्वजनिक सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीलाई सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको हो।
संस्थाका अनुसार मिलन कोइरालाले ९ हजार कित्ता, युवराज दाहालले ७ हजार ८५६ कित्ता, उदय कुमार कटुवालले २ हजार १७८ कित्ता र विजय तिम्सिनाले २ हजार १७८ कित्ता संस्थापक सेयर बिक्री गर्न चाहेका छन्।
त्यस्तै, गोमादेवी चुडालले ७ हजार ८१७ कित्ता, गणेशमान मुखियाले ५ हजार कित्ता र देवी प्रसाद संग्रौलाले १७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन्।
संस्थाले बिक्रीमा राखिएका संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनुपर्ने जनाएको छ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेमा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन तथा प्रचलित कानुनअनुसार इच्छुक सर्वसाधारणलाई समेत उक्त संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।
१५ दिने पूर्वसूचनाबारे ३ लगानीकर्ता संघ एकैठाउँमा, सेबोनलाई दिए यस्ता सुझावहरु
नेपालका विभिन्न लगानीकर्ता संघले पूँजीबजारलाई व्यवस्थित, पारदर्शी, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष ६ बुँदे नीतिगत सुधारको प्रस्ताव गरेका छन्। नेपाल इन्भेष्टर्स फोरम, नेपाल पूँजीबजार लगानीकर्ता संघ र शेयर लगानीकर्ता संघ नेपालले संयुक्त रूपमा सेबोनलाई पत्र पठाउँदै विद्यमान कारोबार तथा नियामकीय व्यवस्थाको पुनरावलोकन गर्न माग गरेका हुन्।
लगानीकर्ता संघहरूले दोस्रो बजारमा कानुनसम्मत रूपमा खरिद गरिएको सेयर बिक्री गर्नुअघि १५ दिनको पूर्वसूचना दिनुपर्ने व्यवस्था पुनरावलोकन गर्नुपर्ने माग गरेका छन्। उनीहरूले सर्वसाधारणले दोस्रो बजारबाट खरिद गरेको सेयर स्वतन्त्र रूपमा बिक्री गर्न पाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।
संघहरूले प्रमोटर तथा रणनीतिक लगानीकर्ताको ठूलो परिमाणको सेयर बिक्रीमा भने पारदर्शिता कायम गर्न निश्चित सीमा तोकेर पूर्वसूचना व्यवस्था राख्न सकिने सुझाव दिएका छन्। प्रमोटर सेयर बिक्रीको हकमा हाल कायम १५ दिनको सूचनालाई घटाएर ७ दिन कायम गर्नुपर्ने र ठूलो परिमाणको सेयर बिक्रीलाई छुट्टै ‘अफर फर सेल’ वा ब्लक कारोबार प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने प्रस्ताव गरिएको छ।
आईपीओ र प्रमोटर सेयर संरचना पुनरावलोकन गर्न माग
लगानीकर्ता संघहरूले कम्पनीको प्रकृति, पूँजी, व्यवसाय र जोखिमका आधारमा आईपीओ तथा प्रमोटर सेयरको संरचना पुनरावलोकन गर्नुपर्ने बताएका छन्। उनीहरूले आईपीओको न्यूनतम हिस्सा ३० प्रतिशत कायम गर्ने नीति अवलम्बन गर्न सुझाव दिएका छन्।
त्यस्तै, कम्पनी सञ्चालनका लागि आवश्यक संस्थापक तथा रणनीतिक लगानीकर्ताको हिस्सा संरक्षण गर्दै अन्य प्रमोटर सेयरलाई क्रमशः सार्वजनिक कारोबारमा ल्याउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। उपयुक्त कम्पनीका हकमा अध्ययनपछि ५० प्रतिशतसम्म सेयर सार्वजनिक कारोबारयोग्य बनाउने सम्भाव्यता अध्ययन गर्न पनि सुझाव दिइएको छ।
बोनस र हकप्रदको मूल्य समायोजनमा एकरूपता माग
बोनस तथा हकप्रद सेयरको मूल्य समायोजन र लागत मूल्य निर्धारणमा नेप्से तथा सीडीएससीबीच एकरूपता कायम गर्नुपर्ने माग पनि लगानीकर्ता संघहरूले गरेका छन्।
नेप्सेले बुक क्लोजपछि निर्धारण गर्ने समायोजित आधार मूल्यलाई सीडीएससीको अभिलेख प्रणालीसँग एकीकृत गर्नुपर्ने, बोनस सेयरको लागत मूल्य निर्धारणमा एउटै वैज्ञानिक विधि लागू गर्नुपर्ने र वास्तविक पूँजीगत लाभ भएको अवस्थामा मात्र कर गणना हुने व्यवस्था गर्नुपर्ने उनीहरूको सुझाव छ।
मार्जिन कारोबारमा समान मापदण्ड
मार्जिन कारोबारमा सबै धितोपत्र दलाल व्यवसायीका लागि समान न्यूनतम मापदण्ड लागू गर्नुपर्ने माग गरिएको छ। सेयरको तरलता, मूल्य उतारचढाव र जोखिमका आधारमा फरक–फरक मार्जिन दर निर्धारण गर्नुपर्ने तथा अत्यधिक जोखिमयुक्त सेयरमा उच्च ऋण अनुपात नियन्त्रण गर्नुपर्ने सुझाव छ।
बजारमा असामान्य उतारचढाव हुँदा अतिरिक्त जोखिम व्यवस्थापनको व्यवस्था गर्नुपर्ने र लगानीकर्तालाई मार्जिन कारोबारबाट हुन सक्ने जोखिमबारे कारोबारअघि स्पष्ट जानकारी दिनुपर्ने पनि संघहरूको प्रस्ताव छ।
T+2/T+3 प्रणाली छोट्याउन सुझाव
लगानीकर्ता संघहरूले सेयर तथा रकमको फछ्र्योट प्रणालीलाई थप छिटो र प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन्। विद्यमान T+2/T+3 प्रणालीलाई क्रमशः छोटो बनाउने सम्भाव्यता अध्ययन गर्न तथा भविष्यमा प्रविधिको क्षमताअनुसार ‘1+1’ वा अझ छोटो फछ्र्योट प्रणालीमा जान तयारी गर्न सुझाव दिइएको छ।
सीडीएससी, नेप्से, ब्रोकर तथा बैंकिङ प्रणालीबीच प्रत्यक्ष र स्वचालित समन्वय बढाएर सेयर तथा रकमको फछ्र्योट प्रक्रिया अधिकतम छिटो र सुरक्षित बनाउनुपर्ने उनीहरूको माग छ।
समग्र नियामकीय सुधारमा जोड
लगानीकर्ता संघहरूले नियमनको उद्देश्य कारोबारलाई अनावश्यक रूपमा रोक्ने नभई पारदर्शिता, निष्पक्षता, जोखिम नियन्त्रण र लगानीकर्ता संरक्षण कायम गर्नु हुनुपर्ने बताएका छन्।
सेबोनले नेप्से, सीडीएससी, नेपाल राष्ट्र बैंक, धितोपत्र दलाल व्यवसायी, सूचीकृत कम्पनी तथा लगानीकर्ता प्रतिनिधिसँग प्रत्यक्ष छलफल गरी लगानीकर्ताको स्वतन्त्र खरिद–बिक्री अधिकार, समान प्रकृतिका कारोबारमा समान नियम, ठूलो परिमाणको कारोबारमा पारदर्शिता, प्रविधिमैत्री फछ्र्योट प्रणाली तथा जोखिमअनुसारको मार्जिन व्यवस्थासहित समग्र नियामकीय सुधार अघि बढाउनुपर्ने उनीहरूको माग छ।
संघहरूले यी सुझावलाई प्राथमिकताका साथ अध्ययन गरी सरोकारवाला तथा लगानीकर्ता प्रतिनिधिसँग छलफल र परामर्श गरेर कार्यान्वयनयोग्य नीतिगत सुधार अघि बढाउन सेबोनसँग आग्रह गरेका छन्।
एकैदिन २ कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिँदैछ ?
एनएमबि बैंक र कुथेली बुखरी स्मल हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। दुवै कम्पनीको सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
एनएमबि बैंकले साधारण सेयरधनीका लागि चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले उक्त लाभांशबापत १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ वितरण गर्ने जनाएको छ। बोनस सेयर भने प्रस्ताव गरिएको छैन।
त्यस्तै, बैंकले ८.२५ प्रतिशत एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ चुक्ता पुँजीको ८.२५ प्रतिशतका दरले १२ करोड २० लाख ५४ हजार ७९४ रुपैयाँ ५२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यो लाभांश कर प्रयोजनका लागि समेत हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।
यता, कुथेली बुखरी स्मल हाइड्रोपावरले चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले १८ प्रतिशत बोनस सेयरबापत २ करोड ६५ लाख ४२ हजार ७४२ रुपैयाँ र ०.९४७४ प्रतिशत नगद लाभांशबापत १३ लाख ९६ हजार ९८६ रुपैयाँ ४२ पैसा वितरण गर्ने जनाएको छ।
कम्पनीको हालको चुक्ता पुँजी १४ करोड ७४ लाख ५९ हजार ६७५ रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर विद्युत् नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी १५औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ।
प्रभु बैंकका ८ संस्थापक सेयरधनीले सेयर बेच्दै, कसले कति कित्ता ?
प्रभु बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ लाख ४७ हजार ८०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन्। बैंकले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै सेयर बिक्री प्रक्रिया अघि बढाएको जनाएको छ।
बैंकका अनुसार जमुना कुमारी श्रेष्ठले १ लाख ३१ हजार ७४७ कित्ता, तिलकबहादुर प्रधानले ३८ हजार ४४ कित्ता, भेन्चर होल्डिङ्स प्रालिले १ लाख २६ हजार ५३६ कित्ता र हिमानी शाहले ५ हजार २६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन्।
त्यस्तै, रन्जीता श्रेष्ठले २८ हजार १३३ कित्ता, मन दाहालले ५ हजार ९४९ कित्ता, कमला अधिकारी सापकोटाले १४ हजार ९०० कित्ता र बेलबहादुर भण्डारीले १ लाख २७ हजार २३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन्।
बैंकको संस्थापक सेयर खरिद–बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार प्रभु बैंकका संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई उक्त संस्थापक सेयर बिक्री गरिने बैंकले जनाएको छ।
रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?
रिज लाइन इनर्जी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि असोज २३ गते एक दिन बुकक्लोज गर्ने भएको छ।
यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले कम्पनीको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले कात्तिक १७ गते ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेटमा पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।
सभाले कायम चुक्ता पुँजीको १०.५२ प्रतिशतका दरले १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसैगरी, दूधपोखरी चेपे हाइड्रोपावरको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने, १२.५०४ मेगावाटको मैवा खोला जलविद्युत आयोजनाको विद्युत् उत्पादन सर्वेक्षण अनुमति पत्र हस्तान्तरण वा बिक्री गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुनेछन्।
हिजोका समाचार छुटाउनुभयो कि?
आज दिनभर पुँजी बजारमा भएका महत्वपूर्ण गतिविधि र लगानीकर्तासँग सम्बन्धित मुख्य विषयहरू यिनै रहे। बजारको चिरफार Evening Walk मा आजका लागि यति नै।
भोलि बिहान फेरि पुँजी बजारका महत्वपूर्ण गतिविधि र आवश्यक जानकारीसहित बजारको चिरफार Morning Walk लिएर उपस्थित हुनेछौं।
धन्यवाद।

प्रतिकृया