काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति थप भरपर्दो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको स्तरोन्नति गरिने भएको छ। यसका लागि असोज २४ गते शनिबार र २५ गते आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित आयोजनाले पुरानो कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ एचटिएलएस कन्डक्टर जडान गर्न लागेको हो। डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटमा करिब ४०० मिटर कन्डक्टर परिवर्तन गर्न बाँकी छ।
प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा सेवा प्रभावित हुन सक्नेछ।
काम सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता बढ्ने, बढ्दो माग व्यवस्थापन गर्न सहज हुने र विद्युत् प्रणाली थप भरपर्दो बन्ने अपेक्षा गरिएको छ। मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ। प्राविधिक कामबाट ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रतिकृया