नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल सेवा प्रदान गर्ने कम्पनीहरूको सूची तयार गरी छनोट गर्न प्रस्ताव आह्वान गरेको छ।
कम्पनीले भदौ ८ गते पहिलोपटक सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य धितोपत्र दलाल सेवा प्रदायकलाई १५ दिनभित्र केन्द्रीय कार्यालयमा सूचीकरण प्रस्ताव दर्ता गर्न आग्रह गरेको हो। सूचीकरण प्रस्ताव फाराम कम्पनीबाट निःशुल्क प्राप्त गर्न सकिनेछ।
सूचीमा दर्ता हुन इच्छुक कम्पनी प्रचलित कानूनबमोजिम दर्ता भएको तथा नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलालको अनुमति प्राप्त गरी अद्यावधिक वा नवीकरण गरेको हुनुपर्नेछ। साथै स्थायी लेखा नम्बर प्राप्त गरेको र नेपाल धितोपत्र बोर्डले तोकेको न्यूनतम चुक्ता पूँजी पूरा गरेको हुनुपर्नेछ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को Net Working Capital धनात्मक भएको र सोही आर्थिक वर्षको करचुक्ता भएको हुनुपर्नेछ। अन्तिम दुई आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा धितोपत्र खरिद तथा बिक्रीको औसत वार्षिक कारोबार रकम १० अर्ब रुपैयाँभन्दा बढी भएको हुनुपर्नेछ।
धितोपत्र दलालका रूपमा कम्तीमा दुई वर्षको अनुभव भएको तथा कम्तीमा एउटा पूर्ण वा आंशिक सरकारी स्वामित्व भएको कम्पनी, संगठित संस्था वा अन्य संगठित संस्थामा धितोपत्र दलालका रूपमा कम्तीमा एक वर्ष काम गरेको अनुभवसमेत आवश्यक पर्नेछ।
त्यसैगरी, प्रचलित कानूनबमोजिम कारोबार गर्न अयोग्य नभएको कम्पनीले आफ्नो प्रोफाइलसहित सूचीकरण प्रस्ताव पेश गर्नुपर्नेछ।


प्रतिकृया