प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूबीच आज पनि भेटवार्ता तय
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूबीच आज २ बजे भेटवार्ता तय भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, यसअघि बुधबार र बिहीबार पनि भेटको समय तोकिए पनि बैठक स्थगित हुँदै आएको थियो। आज भने निर्धारित समयमै बैठक बस्ने पक्का भएको जनाइएको छ।
बैठकमा प्रतिनिधि सभाको अवरोध, संसदमा दर्ता भएका विधेयकहरू र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने बताइएको छ। तीन प्रमुख दलका नेताहरूबीचको यो बैठक राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयासको रूपमा हेरिएको छ।