मेयर बालेनको प्रश्न, “हाम्रो समस्या संघलाई नै भन्नुपर्ने भए प्रदेशको के काम?”



Advertisement
Ads

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारको भूमिकाबारे प्रश्न उठाएका छन्। आइतबार बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको बैठकमा मेयर शाहले प्रदेश सरकारले अहिलेसम्म अधिकार लिने र दिने सन्देश प्रष्ट पार्न नसकेको गुनासो व्यक्त गरे।


Advertisement

“हामीलाई संघबाट अधिकार लिनसक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिनसक्ने प्रदेश सरकार चाहिएको हो, तर अहिले यस्तो आभास हुन सकेको छैन,” मेयर शाहले भने। उनले थपे, “स्थानीय सरकारका समस्याहरू संघ सरकारसँगै सम्बोधन गर्नुपर्ने भएकाले प्रदेश सरकारको आवश्यकता के हो?”


Advertisement

शाहले प्रदेश सरकारको भूमिका अभिभावकीय हुनुपर्ने र स्थानीय तहलाई सक्षम बनाउन प्रयास गर्नुपर्ने बताएका छन्। उनले उदाहरणको रूपमा सुकुम्बासी समस्या, नदी प्रणाली सुधार र पुनःस्थापनामा संघ सरकारको सक्रियता देखाउँदै प्रदेश सरकारलाई प्रश्न गरे, “तपाईंहरूले देखिने भूमिका निभाउनुपर्ने हो, तर यसबारे प्रदेश सरकार नदेखिने ठाउँमा छ।”

चालु आर्थिक वर्षको मनोरञ्जन कर दरले महानगरपालिकाको राजस्व संकलनमा कमी आएको गुनासो गर्दै मेयर शाहले हिउँदे अधिवेशनमा आर्थिक ऐन संशोधन गरी पुरानो दरलाई निरन्तरता दिने प्रक्रिया अगाडि बढाउन आग्रह गरे।

महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पनि विकासको ढाँचामा असन्तोष व्यक्त गर्दै योजनाहरू समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक भएको बताइन्।

छलफलमा प्रमुख सचिव डा. लम्सालले प्रदेश र स्थानीय सरकार बीचको राजनीतिक र प्रशासनिक संवादको कमीका कारण वर्तमान स्थिति उत्पन्न भएको बताए। उनले प्रशासनिक व्यवस्थापनमा सुधार ल्याउने र राजनीतिक संवादका लागि वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरे।

बैठकमा विभिन्न विषयमा चर्चा गरिएको थियो, जसमा राजस्व संकलन, बाँडफाँड, कर्मचारी व्यवस्थापन र नगर प्रहरीका सम्बन्धमा कानूनी व्यवस्था समावेश गरिएको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर