सरकारसँग माग सम्बोधनका विषयमा सहमति हुन नसकेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज भदौ १ गतेदेखि देशभरका म्यानपावर कम्पनीको सेवा ठप्प पारेको छ। संघले मुख्य तथा शाखा कार्यालयमा तालाबन्दी गर्दै वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण प्रक्रिया रोकेको हो।
साउन ३१ गते राति १२ बजेसम्म श्रम स्वीकृति र उडान प्रक्रिया पूरा भएका श्रमिकलाई मात्र विदेश जान दिइएको छ। त्यसपछि नयाँ विज्ञापन, अन्तर्वार्ता, श्रम स्वीकृति, भिसा स्ट्याम्पिङ, रिक्रुटिङ प्रक्रिया तथा पूर्वनिर्धारित श्रमिक उडानसमेत रोकिएका छन्।
वैदेशिक रोजगार विभागले भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको विषयलगायत कारण देखाउँदै सयौँ म्यानपावर कम्पनीमाथि कारबाही अघि बढाएपछि व्यवसायी आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले कारबाही फिर्ता, सेवा शुल्क परिमार्जनसम्बन्धी प्रतिवेदन सार्वजनिक र नीतिगत सुधारको माग गरेका छन्।
श्रम मन्त्रालयको टोलीसँग भएको प्रारम्भिक छलफलमा ठोस सहमति हुन नसकेको संघले जनाएको छ। संघले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै वार्ताका लागि भने ढोका खुला रहेको जनाएको छ।
संघका महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा जायज मागहरूको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म सङ्घर्ष फिर्ता वा स्थगित गरिने छैन।’
म्यानपावर कम्पनी बन्द भएपछि वैदेशिक रोजगारीको तयारीमा रहेका हजारौँ नेपाली श्रमिक प्रभावित भएका छन्।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया