खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध र सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न पहल गरिरहेको बताएका छन्। बुधबार मन्त्रालयका कर्मचारी र पदाधिकारीसँगको छलफलमा उनले काठमाडौं उपत्यकामा चौबीसै घण्टा मेलम्चीको पानी आपूर्ति सुनिश्चित गर्न जोड दिए।
उनले भने, “नागरिकले महसुस गर्ने गरी काम अगाडि बढाऔँ। अधुरा कामलाई तीव्र रूपमा सम्पन्न गरौं, मन्त्रालयबाट आवश्यक सहयोग हुनेछ।” काठमाडौंवासीले वर्षभर शुद्ध खानेपानी पाउनुपर्ने उल्लेख गर्दै उनले सोहीअनुरूप काम अघि बढाउन निर्देशन दिए।
मन्त्री यादवले मेलम्चीको खानेपानी काठमाडौं ल्याउने सन्दर्भमा हेलम्बुका बासिन्दा, संघर्ष समिति र मन्त्रालयबीच भएको सहमति कार्यान्वयनमा आवश्यक पहल गर्न पनि निर्देशन दिए। उनले नागरिकका समस्या समाधान गर्नु सरकारको दायित्व रहेको बताउँदै सहमति कार्यान्वयनका लागि सक्रियता देखाउन आग्रह गरे।
जनतालाई शुद्ध र सफा पानी उपलब्ध गराउन मन्त्रालयको प्राथमिकतामा रहेको भन्दै उनले योजनाबद्ध रूपमा सम्बन्धित मन्त्रालय र अन्य सरोकार निकायसँग समन्वय गरी काम भइरहेको उल्लेख गरे।
बाढीका कारण क्षतिग्रस्त ललितपुरको धोबीघाट फोहर पानी प्रशोधन केन्द्रलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिँदै मन्त्री यादवले खानेपानी पाइप चुहावट मर्मत र समस्या भएका ठाउँमा तत्काल जनशक्ति परिचालन गर्न मातहतका निकायलाई आग्रह गरे। उनले भने, “पानीको समस्याका गुनासो आएको ठाउँमा तत्काल जनशक्ति खटाएर समस्या समाधान गर्नुहोस्।”
















प्रतिकृया