कुलमानको चुनावी घोषणापत्र सार्वजनिक, सांसद संख्या घटाउनेदेखि १२ हजार मेगावाट बिजुली उत्पादनसम्म

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ३ गते
कुलमानको चुनावी घोषणापत्र सार्वजनिक, सांसद संख्या घटाउनेदेखि १२ हजार मेगावाट बिजुली उत्पादनसम्म

उज्यालो नेपाल पार्टीले संघीय संसद र प्रदेशसभाका सांसदहरूको संख्या घटाउनेसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आइतबार काठमाडौंमा पार्टीका अध्यक्ष कुलमान घिसिङ लगायतका नेताहरूले चुनाव केन्द्रित घोषणापत्र प्रस्तुत गरेका हुन्।

घोषणापत्रअनुसार, नागरिकले समयमै सार्वजनिक सेवा पाउने, भ्रष्टाचारविरूद्ध उजुरी दिने र जवाफदेहिता खोज्ने हक संविधानमा मौलिक हकको रूपमा सुनिश्चित गरिने छ। प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ कायम गर्ने र प्रदेशसभाको संख्या ५५० बाट ३३० कायम गर्ने प्रस्ताव राखिएको छ। साथै संघमा १५ मन्त्रालय र प्रदेशमा ५–७ मन्त्रालय सीमित गर्ने, राज्यमन्त्री तथा सहायकमन्त्री नराख्ने व्यवस्था गरिने उल्लेख छ। प्रदेश सरकारको स्थायित्वका लागि मुख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित गरिने संविधान संशोधनको पहल पनि घोषणापत्रमा उल्लेख गरिएको छ।

मतदान सुधारका लागि मतदाताले नजिकको मतदान केन्द्रबाट मतदान गर्न पाउने र विरोध मत दर्ता गर्न मतदान पत्रमा “कुनै पनि होइन” विकल्प राखिने व्यवस्था प्रस्ताव गरिएको छ। भ्रष्टाचारीलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाइने र उनकी सम्पत्ति राष्ट्रियकरण गरिने प्रतिबद्धता पनि गरिएको छ। सामाजिक सेवामा निशुल्क स्वास्थ्य, शिक्षा र सहज रोजगारी सुनिश्चित गर्ने उल्लेख छ भने आगामी ५ वर्षभित्र ८ हजार कि.मि. कालोपत्रे, ४ हजार कि.मि. ग्राभेल र ३ हजार कि.मि. नयाँ ट्रयाक निर्माण गर्ने योजना रहेको छ। ऊर्जा क्षेत्रमा २०३० सम्म जलविद्युत उत्पादन १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाट पुर्याई भारत, बंगलादेश र चीनतर्फ निर्यात वृद्धि गर्ने, साथै जलविद्युत, जडीबुटी, सिमेन्ट, पर्यटन र आईटीलाई प्राथमिकता प्राप्त क्षेत्रको रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेश छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स