केपी ओलीले भने, “बयान दिन्न गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ”

केपी ओलीले भने, “बयान दिन्न गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ”

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने स्पष्ट पारेका छन्। हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’ मा अन्तर्वार्ताका क्रममा ओलीले यस विषयमा आफू पहिलेदेखि नै अडिग रहेको बताएका हुन्।

प्रधानमन्त्री र जाँचबुझ आयोगका अध्यक्षले अनुसन्धान सुरु हुनुअघि नै निष्कर्ष सुनाइसकेको आरोप लगाउँदै ओलीले यस्तो अवस्थामा बयान दिनुको कुनै औचित्य नरहेको बताए।
“आयोगले छानबिन गर्छ तर नतिजा के आउँछ सार्वजनिक गर्दैन। तर यहाँ त पहिल्यै निष्कर्ष सुनाइसकिएको छ,” ओलीले भने, “प्रधानमन्त्री र आयोगका अध्यक्षले मेरो नाम लिएर कारबाही गर्नुपर्छ भनेर सार्वजनिक रूपमा बोलेका छन्। जब निष्कर्ष पहिल्यै आइसकेको छ भने म किन बयान दिन जाने?”

ओलीले बयान नदिएको आधारमा कारबाही गर्न चाहे चुनौतीसमेत दिए। “बयान दिन मानेन भने गोली ठोके हुन्छ। यत्रो कसुर गर्नेले बयान दिन मानेन भनेर आजीवन थुनिदिए पनि हुन्छ,” उनले भने, “उहाँहरूसँग बन्दुक छ त। सानातिना कुरा किन गरिराख्ने?”

आयोगका अधिकारीहरू घरमै आएमा आफूले सम्मानपूर्वक स्वागत गर्ने पनि ओलीले बताए। “घर आउनुभयो भने चिया खुवाएर कुरा गर्छु र पठाउँछु,” उनले भने।

आवश्यक परे उपत्यकाबाहिर जाने आफ्नो संवैधानिक अधिकार भएको उल्लेख गर्दै ओलीले त्यसका लागि असंवैधानिक सरकारसँग अनुमति लिनुपर्ने कुनै कारण नरहेको बताए।
“म काभ्रे, रामेछाप, पर्वत जहाँबाट पनि निर्वाचन लड्न सक्छु। निर्वाचनमा आउनुस् भन्ने, फेरि जान पाइँदैन भन्ने कस्तो कुरा हो?” ओलीले प्रश्न गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स