डिजिटल भुक्तानी प्रणाली सञ्चालक कम्पनी फोनपेमा उद्योगी राजेन्द्र खेतानले प्रवेश गरेका छन्। नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि खेतानसहित १० जना लगानीकर्ताले फोनपेको कुल २२.३७ प्रतिशत सेयर करिब १ अर्ब ४९ करोड रुपैयाँमा खरिद गर्ने सम्झौता गरेका छन्। यसमध्ये खेतानले मात्र १४ प्रतिशत सेयर आफ्नो नाममा लिने भएका छन्।
खेतानको संलग्नता रहेको र्यापिड इन्भेस्टमेन्टले १ प्रतिशत, नेपाल इम्प्याक्ट फन्ड वानले २ प्रतिशत, पर्सा होल्डिङ्स प्रालिले २ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर फन्डले १ प्रतिशत, नेपाल इम्प्याक्ट ग्लोबल इक्विटी फन्ड वानले १ प्रतिशत, स्वेडा इन्भेस्टमेन्टले ०.५ प्रतिशत, लक्ष्मी माइक्रो इन्भेस्ट प्रालिले ०.५ प्रतिशत, जीजीसी इन्भेस्टमेन्ट्स प्रालिले ०.३ प्रतिशत र डिजे श्रेष्ठले ०.०७ प्रतिशत सेयर खरिद गर्ने छन्।
यस कारोबारसँगै फोनपेको मूल्यांकन ६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। खेतानसहितका लगानीकर्ताले फोनपेको मातृ कम्पनी एफवानसफ्टको १४.३७ प्रतिशत र सूचना प्रविधि विज्ञ असगर अलीको ८ प्रतिशत सेयर खरिद गरेका हुन् । कम्पनीका अनुसार नयाँ भर्टिकल विस्तारका लागि आवश्यक पूँजी जुटाउन सेयर बिक्री गरिएको हो।
फोनपेले २०७६ साल माघ २६ गते नेपाल राष्ट्र बैंकबाट डिजिटल भुक्तानी प्रणाली सञ्चालनको अनुमति पाएको थियो। हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँ छ। सन् २०१८ मा पव्लिक कम्पनीका रूपमा दर्ता भएको फोनपेले छिट्टै आईपीओ ल्याउने तयारीसमेत गरिरहेको छ।
केही वर्षअघि देखि आईपीओ जारी गर्ने योजना बनाएको भएपनि कम्पनी घाटा भइरहेकाले आईपीओ जारी गर्ने योजना स्थगित गरिएको थियो। अहिले कम्पनी मुनाफा कमाउन थालेकाले फोनपेले आईपीओ ल्याउने अन्तिम तयारीमा पुगेको हो।




















प्रतिकृया