पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा सार्वजनिक स्थानमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।
आइतबार गण्डकी प्रदेशबाट काठमाडौँ फर्किएका शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा राप्रपाले भव्य रूपमा स्वागत गरेको थियो। स्वागत कार्यक्रमका क्रममा एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा फोहोर गरिएको र सडक, सडकपेटी, आईल्याण्ड तथा रेलिङ्गमा भौतिक क्षति पुर्याइएको भन्दै महानगरले कारबाही अघि बढाएको हो।
महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार, फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम राप्रपालाई रु १,००,००० (एक लाख) जरिवाना गरिएको छ।
झण्डै एक महिना लामो गण्डकी प्रदेश बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखरादेखि काठमाडौँ फर्किएका थिए। त्रिभुवन विमानस्थलमा उनलाई राजावादी समूह र राप्रपाका कार्यकर्ताहरूले राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए।


प्रतिकृया