देशले के पायो, के गुमायो भन्ने समीक्षा गर्ने बेला आयोः राजेन्द्र लिङ्देन

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १५ गते
देशले के पायो, के गुमायो भन्ने समीक्षा गर्ने बेला आयोः राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।

राप्रपाको स्थापना दिवसका अवसरमा शुक्रबार चावाहिलस्थित पार्टी कार्यालयमा आयोजित झण्डोतोलन कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले मानवअधिकार आयोगको प्रारम्भिक प्रतिवेदनले धेरै विषय उजागर गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्ने दिशामा सरकार अघि बढ्नुपर्ने बताएका हुन्।

उनले अभूतपूर्व जनमतका आधारमा वर्तमान सरकार गठन भएकाले जनताको आशा र विश्वासमा आघात पुग्ने कुनै पनि काम नगर्न सरकारलाई सचेत गराए। विगतमा एकल बहुमत प्राप्त दलले पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्न नसकेको इतिहास स्मरण गराउँदै उनले पुराना राजनीतिक दलका कमजोरी दोहोर्‍याउने छुट अहिलेको सत्तारुढ दललाई नभएको बताए।

अध्यक्ष लिङ्देनले जनताको विश्वासलाई व्यवहारमा उतार्ने गरी सरकार अघि बढोस् भन्ने शुभकामना पनि व्यक्त गरे। साथै, गणतन्त्र स्थापना भएको करिब दुई दशकपछि देशले के प्राप्त गर्‍यो र के गुमायो भन्ने समीक्षा गर्ने समय आएको उनको भनाइ थियो।

उनले गणतन्त्रपछि पनि अर्थतन्त्र मजबुत बन्न नसकेको, सुशासन स्थापित हुन नसकेको उल्लेख गर्दै देशको हितका लागि नयाँ राष्ट्रिय समझदारी आवश्यक भइसकेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स