आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचारविरुद्ध खबरदारी सभा आयोजना गर्न लागिएको बताएका छन्। सोमबार बिरगंजमा सम्पन्न आजपा पर्सा जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मान्छेहरू नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए। उनका अनुसार भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार सरकारी निकायहरूको संलग्नतामा खुलेआम भ्रष्टाचार भइरहेको छ।
भ्रष्टाचारविरुद्ध जागरण अभियान सुरु गरेको आजपाले पुस २७ गते बिरगंजमा विशेष खबरदारी सभा आयोजना गर्दैछ। सभालाई अध्यक्ष साहसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। यो सभाको मुख्य उद्देश्य भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउनु, सरकारलाई दबाब दिनु, र बिरगंजलाई आर्थिक राजधानी घोषणा गर्न प्रेरित गर्नु हो। साहले संघीय संरचना आउनुअघि बिरगंजलाई राजधानी बनाउने वाचा गरिएको भए पनि षड्यन्त्रपूर्वक त्यो सम्भावना खारेज गरिएको बताए। उनका अनुसार, “काठमाडौं प्रशासनिक राजधानी, पोखरा पर्यटकीय राजधानी हुन सक्छ भने बिरगंज किन आर्थिक राजधानी हुन सक्दैन?” साहले बिरगंजलाई आर्थिक राजधानी घोषणा गराउन कुनै कसर बाँकी नराख्ने अठोट गरेका छन्।
साथै, साहले सरकारका व्यक्तिहरूले मनोमानी कर लगाएर मुलुकलाई धराशायी बनाएको आरोप पनि लगाए। भ्रष्टाचार, मनोमानी कर आतंक, वैदेशिक रोजगारमा भइरहेको ठगी, भन्सार कानुनमा रहेको लुटतन्त्र, र दलालतन्त्रविरुद्ध आवाज उठाउँदै आएको आजपाले बिरगंजलाई आर्थिक राजधानी घोषणा गर्न सरकारलाई बाध्य पार्ने चेतावनी दिएको छ। यदि सरकारको ध्यानाकर्षणमा ढिलाइ भयो भने आजपाले खबरदारी सभाबाट सुरु भएको आन्दोलनलाई थप चर्काउने योजना बनाएको छ। यस कदमले भ्रष्टाचार र आर्थिक अन्यायविरुद्ध नयाँ अभियानको थालनी गर्ने अपेक्षा गरिएको छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया