ओम मेगाश्रीको आइपीओमा लगानीकर्ताको घुइँचो, अहिलेसम्म कति पर्यो आवेदन?
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा १ अर्ब ६७ करोड ४३ लाख ४६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार बिहीबार (चैत १ गते) बिहान १० बजेसम्म १३ लाख ७६ हजार २७५ जना आवेदकले १ करोड ६७ लाख ४३ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन्, जुन मागभन्दा ११.३४ गुणा बढी हो ।
कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो, जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपीओको निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ
आवेदन धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर अनलाइनमार्फत दिन सकिन्छ । केयर रेटिङ नेपालले ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओलाई ‘केयर एनपी बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको देखाउँछ ।