भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार तथा पुनःस्थापनाका लागि रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले १२ लाख अमेरिकी डलर अर्थात् करिब १८ करोड ९६ लाख २२ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदी तथा त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा नेपाल रेडक्रसका स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोली सक्रिय भइसकेका छन्। टोलीले खोज, उद्धार तथा राहत वितरणलाई निरन्तरता दिइरहेको आइएफआरसीले जनाएको छ।
आइएफआरसीका महासचिव जगन चापागाईले भोटेकोशी बाढीबाट सिर्जित विपद्को प्रतिकार्यलाई सुदृढ बनाउँदै प्रभावितलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिएका छन्।
आफ्नो सामाजिक सञ्जालमार्फत महासचिव चापागाईले भनेका छन्, “आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायहरुसँगका समन्वयमा आवश्यक पर्दा समुदायलाई थप सहयोग परिचालन गर्न तयार छ, मानवीय सहयोग निरन्त जारी रहन्छ ।”
रेडक्रसका स्वयंसेवक प्रभावित समुदायमै पुगेर प्रारम्भिक राहत तथा सहयोगमा सक्रिय रहेको उनले उल्लेख गरेका छन्। विपद् प्रतिकार्यलाई निरन्तरता दिनसमेत उनले आग्रह गरेका छन्।
बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको, धेरैको ज्यान गएको र केही मानिस बेपत्ता भएको घटनाप्रति महासचिव चापागाईले दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

प्रतिकृया